उर्जा

प्राधिकरणले थाल्यो कर्मचारीसँग कार्यसम्पादन सम्झौता

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आफूले प्रवाह गर्ने सेवामा सुधार ल्याउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणले पहिलो चरणमा ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने ग्राहक तथा वितरण सेवाका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

सम्झौताबाट विद्युत चुहावट, प्रशासनिक खर्च घटाउने, बा“की वक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्नेलगायत कार्यसम्पादन सूचकांक निर्धारण गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हरेक क्षेत्रीय कार्यालय र मातहतका वितरण केन्द्रलाई चुहावट नियन्त्रण, औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य निर्धारण गरिएको छ । कार्यसम्पादनको हरेक चार–चार महिनामा मूल्यांकन गरिने प्राधिकरणको भनाइ छ ।

ग्राहक तथा वितरण सेवाअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्र प्रमुखसँग सम्झौता गरिएको छ । उक्त सम्झौता जलविद्युत तथा प्रसारण लाइन आयोजना प्रमुख, विद्युत् केन्द्र प्रमुख र उपकार्यकारी निर्देशकलगायतसँग प्राधिकरणले गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहक तथा वितरण सेवा निर्देशनालयअन्तर्गत विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख बज्रभूषण चौधरीसँग शनिबार कार्यसम्पादन सम्झौता गरेको प्राधिरणले जानकारी दिएको छ । त्यसैगरि निर्देशनालयका उपकार्यकारी निर्देशक सुनील कुमार ढुंगेलले र चौधरीले क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण केन्द्रका प्रमुखसँग सम्झौता गरेका छन् ।

सम्झौताले ग्राहकलाई दिने सेवामा सुधार र कार्यालयभित्रको कार्यसम्पादनमा चुस्तता आउने र समग्र संस्थाको प्रशासनिक तथा वित्तीय अवस्थामा सकारात्मक प्रभाव पर्ने प्राधिकरणले अपेक्षा लिएको बताएको छ । कार्यकारी निर्देशक घिसिङले भने ऊर्जा मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

प्राधिकरणका अनुसार हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

साथै लक्ष्य हासिल गर्नेले पाएको नम्बर बढुवामा समेत जोड्ने, विदेशमा आयोजना हुने तालिम, सेमिनारमा प्राथमिकता दिने लगायतका गैरनगद प्रोत्साहन प्रदान गरिने प्राधिकरणको भनाइ छ ।

तर, ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादनको रुपमा लिइनेछ । त्यस्ता कर्मचारीहरुको बढुवामा समेत सोही बमोजिमको नम्बर दिइने र नगद तथा गैर नगद प्रोत्साहन नदिइने लगायतको व्यवस्था गरिएको छ ।

प्राधिकरणले प्रमुखहरुलाई वितरण टान्सफर्मर, मिटर, केवल, पोल लगायतका उपकरण समयमै उपलब्ध गराउने र कानुनी परिधिभित्र रहेर स्वतन्त्रपूर्वक काम गर्न दिने प्रतिबद्धता समेत जनाएको छ ।