पु.समाचार

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर ब्राउन सुगरसहित पक्राउ

धरान । धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रतिष्ठानमा कार्यरत सुरक्षा गार्डले त्यहीँबाट इन्ट्रन सकेका डाक्टर क्षितिज श्रेष्ठलाई रंगेहात पक्राउ गरेका हुन् ।

डाक्टर श्रेष्ठसहित ३ जना प्रतिष्ठान परिसरबाटै सुरक्षागार्डले पक्राउ गरेको गरेको प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले पुष्टि गरेका छन् ।

डाक्टर श्रेष्ठसहित धरान १२–का उज्वल हलवाई र दिनेश श्रेष्ठलाई पक्राउ गरिएको छ । हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर पुर्‍याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको इलाका प्रहरी कार्यालय धरान स्रोतले जनाएको छ ।

श्रेष्ठ प्रतिष्ठानको ४ नं मेसका सञ्चालक हुन् । उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा पशुपति चौधरीले भने होस्टल वार्डेनले छानबिन गरिरहेकोले यथार्थ पत्ता लाग्न बाँकी रहेको बताए । शंका लागेर प्रहरीलाई पनि बोलाएको प्रवक्ता चौधरीको भनाई थियो ।