अन्तर्राष्ट्रिय

नाकाबन्दी लगाउन समर्थन गर्ने राष्ट्रलाई उत्तर कोरियाले दियो कडा चेतावनी

एजेन्सी । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले आफ्नो राष्ट्रमाथि लगाएको पछिल्लो नाकाबन्दी युद्ध सरह भएको बताएको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएमा आइतबार प्रकाशित खबरमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको थप नाकाबन्दीमा समर्थन गर्ने राष्ट्रहरु त्यसबाट उत्पन्न परिणामको जिम्मेवार हुने उख्खेल गरिएको चिनियाँ टेलिभिजन नेटवर्क सीजीटीएनले जनाएको छ ।

संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि लगाएको पूर्ण आर्थिक नाकाबन्दीलाई ‘एक्ट अफ वार’ को संज्ञा दिइएको छ । अमेरिकाबाट आफ्नो देशमाथि भएको खतरालाई रोक्न परमाणु शक्तिको विकास गर्नु एकमात्र बाध्यात्मक मार्ग भएको प्योङयाङले बताएको छ । आम्मारक्षाका लागि राष्ट्रलाई परमाणु शक्तिसम्पन्न बनाउनु परेको दावी उत्तर कोरियाले गरेको छ ।

यही शुक्रबार मात्रै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा उत्तर कोरियामाथि थप नाकाबन्दी लगाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको थियो ।

परमाणु कार्यक्रम नरोकेको भन्दै संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको नाकाबन्दी कडाइ गर्दै लगेको छ ।