प्रवास

जापानको ‘स्पिच कन्टेस्ट’मा नेपाली विद्यार्थी दोस्रो स्थानमा

काठमाण्डौ । जापानमा पढ्ने विदेशी विद्यार्थीहरुको ‘स्पिच कन्टेस्ट’मा नेपाली विद्यार्थी मनिषा भण्डारीले दोस्रो स्थान हासिल गरेकी छन् । प्रतियोगितामा विश्वभरबाट जापानमा अध्ययन गर्न गएका १८ सय विद्यार्थीले भाग लिएका थिए । त्यसमध्ये कम्पोजिसन टेस्ट तथा भिडियो टेस्टबाट १३ जनामात्र फाइनलमा पुगेका थिए ।

फाइनलमा पुगेका नेपाल, चीन, भियतनाम, श्रीलंका र बंगलादेशका विद्यार्थीले आ–आफ्नो देश र जापानको सांस्कृतिक विविधता तथा दुई देशको संस्कृतिबीच विद्यार्थीले कसरी पुलको भूमिका खेल्न सक्छन् भन्नेबारे बोलेका थिए । फाइनलमा श्रीलंकाली विद्यार्थी प्रथम र नेपाली दोस्रो भए ।

प्रतियोगितामा दोस्रो भएपछि नेपाली विद्यार्थी भण्डारीले जापानमा नेपाली विद्यार्थी बढिरहेको भन्दै उनीहरुलाई दुई देशबीच संस्कृति आदानप्रदाको माध्यम बनाउनुपर्नेमा जोड दिइन् ।