पु.समाचार

केपी ओलीलाई कांग्रेस नेता प्रदिप गिरीले श्री ३ महाराज भनेपछि…!

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईलाई पिताजीतुल्य एउटा युग हाक्ने नेता भएको स्मरण गरेका छन् । शनिबार स्व.नेता भट्टराईको स्मृतिमा आयोजित ९४ औं जन्मजयन्ती समारोहमा बोल्दै अध्यक्ष ओलीले सो कुराको स्मरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले स्व.कृष्णप्रसाद भट्टराईसँग आफ्नो तुलनानै हुन नसक्ने बताउँदै भट्टराईहरुले एउटा कालो युगबाट उज्यालो युगमा नेपाललाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । ओलीले भने, ‘हामी सँगै जेलनेल त बस्यौं, तर उहाँसँग हामी तुलनायोग्य छैनौ, भट्टराई सादगी र सन्त मात्र होइन, खुल्ला नेता पनि हुनुहुन्थ्यो, उहाँ मेरो पितातुल्य नेता हो ।’

कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस नेता प्रदिप गिरीले लगाएको एउटा आरोपको सटिक जवाफ दिन भ्याए । नेता गिरीले एमाले अध्यक्ष ओली अहिले श्री ३ जस्तो हुनुभएको र बनाउनेहरुले त्यस्तो बनाएको बताएपछि ओलीले आफु किसानी परिवारबाट आएकोले त्यस्तो हुन नसक्ने बताए ।

उनले आफु गाई बाखा हेर्ने र भकारो सार्ने परिवारबाट आएकोले त्यस्तो आरोप नसुहाएको समेत स्पष्ट पारे । उनले आफु शासक नभएर एउटा राजनीतिक दलको नेतामात्र भएको समेत जवाफ फर्काएका थिए ।