राजनीति

हलीको छोरालाई शासकीय रवाफ छैन: अध्यक्ष ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा दलहरुबीच मनमुटाव भए पनि अब विकास निर्माणमा मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार लतिपुर नेपाली काँग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकासमा सबै एक हुनुपर्ने बताएका हुन् । उनले राजनीतिमा बेइमानीको सिमा नहुने स्पष्ट पारे ।

उनले भने, ‘सम्पूर्ण इमानका साथ काम गर्नुपर्छ, इमानको सीमा हुँदैन । राजनीतिमा यतिसम्म बेइमानी चल्छ, बेइमानीहुन्छ भनेर ठाउँ राख्दिनँ ।’

उनले आफू हलीको छोरो भएकाले शासकी रवाफ नभएको बताएका छन् ।

उनले भने, ‘ म गाउँमा गाई भैसी चराएर हुर्किएको ठिटो, किसानको छोरो, हलीको छोरोलाई शासकीय रफाव छैन । मैले के दम्भ देखाउने ?’
उनले आफ्नो स्वास्थ्य अवस्था सबै ठिक रहेको र आफू आयुको चिन्ता कहिल्यै नलिने बताए ।

‘११ वर्षअघि किड्नी फेरेको, कहिले निमोनिया, कहिले मेनेन्जाइटिस भएर गयो–गयो भनेजस्तो भए पनि मेरो आयुको सिमा छ, म कहिल्यै चिन्ता गर्दिन’, ओलीले भने ।