देश

चितवनको नदीमा बर्दियाको भाले गोही

चितवन । नारायणी नदीमा रहेको दुर्लभ जलचर घडियाल गोहीको एकमात्र भाले मरेपछि चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरु निकै चिन्तामा थिए । नेपालमा निकै संकटमा रहेको घडियाल गोही अलि धेरै चितवन निकुञ्जको राप्ती र नारायणी नदी क्षेत्रमा थिए । तर प्रजनन्मा सक्रिय एक मात्र भाले मरेपछि निकुञ्जका अधिकारीहरु भाले गोही ल्याउँन बर्दिया पुगेका थिए ।

‘बर्दियाको बबइ नदीमा हामीले हिजो शुक्रबार मध्यान्ह साढे ११ बजे भाले घडियाल समाउन सफल भएका थियौं,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने । बर्दियामा समाएको भाले गोहीलाई निकुञ्जले शनिबार बिहान राप्ती र नारायणी नदीको संगम घाट खोरिया मोहन क्षेत्र नजिक नारायणी नदीमा छाडेको छ ।

निकुञ्जको टोली पुस ३ गते बर्दिया पुगेको थियो । चार गतेबाट गोहीको खोजी सुरु भएको थियो । पुर्व पश्चिम राजमार्गभन्दा केही तल बबई नदीमा भेला परेको भाले गोही ३५ वर्षको रहेको निकुञ्जका अधिकारीहरुले बताएका छन् । सो गोही झण्डै आठ सय किलोको छ ।घडियाले विश्वमा निकै तिब्र रुपमा लोप हुन थालेको उभयचर अर्थात् पानी र जमिन दुवै ठाउँमा बाँच्ने ठूलो जनाबर हो ।

घडियाल सफा नदीमा र खोलामा मात्रै बस्ने गर्छ । यसले ताजा पानीमा हुने माछा खाने गर्छ । जहाँ माछा हुँदैन त्यहाँ घडियाल नपाइने संरक्षणमा सक्रिय चितवन राष्ट्रिय निकुञ्जका पुर्व संरक्षण अधिकृत रामपृत यादवले बताए । नदीमा पर्याप्त माछा हुनका लागि प्रदुषण हुनु हुँदैन । मान्छेको चाप पनि भएको हुनु हुँदैन । घडियाल पाइने नदी वातावरणीय हिसाबले राम्रा मानिने यादवले बताए ।

तर नेपालमा यसो हुन नसक्दा घडियालको संख्या दिनप्रति दिन घट्दो छ । वर्ष दिनअघि चितवनको राप्ती र नारायणी नदी क्षेत्रमा भएको गोही गणनामा १६६ वटा घडियाल भेटिएका थिए । देशभरिका नदीमा घडियाल गोहीको कुल संख्या १९८ रहेको चितवन निकुञ्ज कार्यालयले जनाएको छ ।

त्यस्तै चितवन निकुञ्जको मुख्यालयमा ३५ वर्षअघि घडियाल गोही प्रजनन् केन्द्र पनि खुलेको थियो । सो प्रजनन् केन्द्रमा लगभग पाँच सयका हाराहारीमा गोही छन् । त्यहाँ हुर्केका गोहीहरु नदीहरुमा लगेर छाड्ने गरिन्छ । तर छाडेका गोही बच्न सकेका छैनन् ।

प्रजनन् केन्द्रमा प्रजनन्का लागि सक्षम एउटा मात्रै भाले गोही छ । तर राप्ती र नारायणी नदीमा रहेका घडियाल गोहीमध्ये प्रजननका लागि सक्षम एउटा मात्रै भाले गोही गएको जेठमा मरेको थियो । माछा मार्नेहरुले राखेको जालमा अड्केर गोही मरेको थियो । जसका कारण भाले गोही खोज्नु परेको थियो ।

नेपालमा मगर र घडियाल गरेर दुई खालका गोही छन् । मगर गोही तलाउ र हिलो पानीमा पनि पाइन्छन् । तर घडियाल सफा र बग्ने पानीमा मात्रै पाइने भएका कारण संकटापन्न अवस्थामा पुगेको छ । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाभन्दा घडियाल २० गुणा बढी संकटमा रहेको घडियाल गोही प्रजनन् केन्द्रका प्रमुख तथा निकुञ्जका सहयाक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिए ।