आर्थिक

पापड उद्योगबाट वार्षिक १० लाख आम्दानी

कञ्चनपुर । कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका भुवन कार्की पापड उद्योग सञ्चालन गरी आत्मनिर्भर बनेका छन् ।

तीन वर्षअघि उनले सञ्चालन गरेकोे खप्तड पापड उद्योगबाट वार्षिक २० लाखभन्दा बढीको पापड उत्पादन हुँदै आएको छ ।

पापड उत्पादन गर्नका लागि विगतमा भारतबाट ल्याउँदै आएको कच्चापदार्थ अहिले मेसिन खरिद गरेर स्थानीयस्तरमा नै तयार गरि पापड उत्पादन हुन थालेको उद्योग सञ्चालक कार्कीले बताए ।

पापड बिक्री गरेर वार्षिकरुपमा सात लाखदेखि १० लाखसम्म आम्दानी हुने गरेको उनको भनाई छ ।

कैलालीको अत्तरियामा चिया नास्ता पसल सञ्चालन गर्दै आएका बेला भारतीय व्यापारीबाट प्रेरणा लिएर घरमै थोरै पूँजीमा उद्योग सञ्चालनमा ल्याई आम्दानी गर्दै आएको उनले बताए ।

यो उद्योगबाट उत्पादित पापड स्थानीय बजारसँगै, धनगढी, अत्तरिया, महेन्द्रनगर र पहाडी क्षेत्रका जिल्लामा आपूर्ति हुने गरेको छ । उद्योगबाट १० जनाले प्रत्यक्षरुपमा रोजगारीसमेत पाएका छन् । घरपरिवारले समेत उद्योगमा उत्पादनका लागि कार्य गर्दै आएका छन् ।

प्रदेशसभाका सदस्य महेशदत्त जोशीले घरेलु उद्योगले रोजगारी सिर्जना गर्ने भएकाले यसलाई बढावा दिइनुपर्ने बताए । उनले उद्योगका लागि सहुलियत ऋण प्रदान गर्ने र विद्युत् लगायतमा अनुदान दिनका लागि कार्य अगाडि बढाइने बताए ।