उर्जा

बिजुली कम भएपछि प्राधिकरणलाई ‘टेन्सन’

काठमाण्डौ । हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ ।

गत वर्षदेखि देशव्यापी रुपमा नै विद्युत्भार कटौतीमुक्त गरिएको छ । तर त्यसलाई निरन्तरता दिन दैनिकजसो नै प्राधिकरणको उच्च नेतृत्वले पापड पेलिरहेको छ ।

प्राधिरकणका अनुसार हाल दैनिक विद्युत् माग एक हजार ३८५ मेगावाटको हाराहारीमा छ । केन्द्रीय प्रसारण लाइनमा करिब तीन सय मेगावाट विद्युत् अपुग हुँदै आएको छ । आन्तरिक रुपमा प्राधिकरणको करिब ३८०, निजी प्रवद्र्धकको २८० र भारतबाट ३७० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ ।

प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घण्टा विद्युत् कटौती गर्दै आएको छ । हाल नेपालको उत्पादित विद्युत् जडित क्षमता एक हजार १० मेगावाट रहेको छ । तर हिउँदको समयमा कूल जडित क्षमताको करिब ५० प्रतिशतको हाराहारीमा मात्रै विद्युत् उत्पादन हुने गरेको छ । माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा विद्युत् व्यवस्थापनका लागि समस्या पर्दै आएको छ ।

पुराना संरचना र जीर्ण प्रसारण लाइन तथा वितरण प्रणालीका कारण देशका विभिन्न स्थानमा समस्या आइरहेको छ । भक्तपुरमा पछिल्लो दिनमा देखिएको समस्या त्यसैको उपज भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीको भनाइ छ ।

प्राधिकरणले सबस्टेशनको मर्मत, प्रसारण लाइनको मर्मत तथा नयाँ संरचना निर्माणमा जोड दिएर तत्कालको व्यवस्थापन गर्दै आएको छ । हिउँदको माग सम्बोधन गर्न प्राधिकरणले ४७० मेगावाट आयात गर्ने लक्ष्य राखेको छ । माग र आपूर्तिबीचको चर्को असन्तुलनका कारण विद्युत् वितरणमा समस्या आएको भन्दै सकेसम्म मिलाएर व्यवस्थापन गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

दशैँलगत्तै भक्तपुरको सबस्टेशनमा मुसा छिरेर प्रसारण प्रणाली अवरुद्ध गरायो भने शुक्रबार बाँकेको कुसुममा जंगली हात्तीले प्रसारण प्रणालीमा क्षति पु¥याउँदा सुदूरुपश्चिम र मध्यपश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या खडा गरेको छ ।

प्राधिकरणको ‘पावर बैंक’का रुपमा रहेको कुलेखानीमा गत वर्षभन्दा यस वर्ष बढी पानी जम्मा भएका कारण समस्या कम हुने प्राधिकरणको प्रक्षेपण छ । प्रसारण लाइन बिग्रँदा तथा अन्य आयोजनाबाट विद्युत् उत्पादनमा समस्या आउँदा चलाउने गरी कुलेखानीको पानी जम्मा गरेर राखिएको प्राधिकरणको भनाइ छ । भार व्यवस्थापनमा कुलेखानीको यस हिउँदमा महत्वपूर्ण सहयोग हुने कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवको भनाइ छ ।

कुलेखानीमा हाल पानीको सतह एक हजार ५२४ मिटरमा रहेको छ । हिउँदभर ९२ मेगावाट विद्युत् उत्पादनका लागि उक्त परिणामको पानी उल्लेख्य रहेको प्राधिकरणको बुझाइ छ । यसै महिनाको अन्तिम साताबाट मात्रै कुलेखानी चलाउने योजनामा प्राधिकरण छ ।

कुलेखानी जलाशयका कारण हाल दुईवटा विद्युत्गृहले विद्युत् उत्पादन गर्ने गरेको छ । कुलेखानी तेस्रो निर्माणमा संलग्न निर्माण व्यवसायीले समयमा काम नगर्दा थप १४ मेगावाट विद्युत् उत्पादन गर्ने पानी त्यत्तिकै खेर फाल्नु परिरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन गर्ने बताइए पनि सम्भावना कम रहेको बताइन्छ ।

यस्तै काबेली करिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण विद्युत् उत्पादन शुरु गर्ने तयारीमा रहेका तीन आयोजनासमेत समस्यामा परेका छन् । काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएको भए राष्ट्रिय प्रसारण लाइनमा ५७ मेगावाट विद्युत् थप हुने भए पनि प्राधिकरणले ध्यान नदिएको काबेली ‘बी’ एक आयोजनाका प्रमुख रमेशकुमार न्यौपानेको भनाइ छ ।

उता प्रसारण लाइनको अभावमा दोलखाको सिप्रिङखोला जलविद्युत् आयोजनासमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या पैदा भएको छ । सो आयोजनाले १० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । तीन मेगावाट विद्युत् माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले प्रयोग गरिरहेको छ भने बाँकी विद्युत् खेर गइरहेको छ ।

चालु आवको ५ महिनामा निजी क्षेत्रका सात आयोजनाले ४० मेगावाट विद्युत् थप गरेका छन् । तर हिउँदमा ती आयोजनाले मात्रै २० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन गरिरहेका छन् । हिउँदको समयमा नदीमा पानीको सतह घटेका कारण प्राधिकरणको ‘पावर बैंक’का रुपमा रहेका मुलुककै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’ले ८० मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाको क्षमता १४४ मेगावाट छ ।

प्राधिकरणले साँझको समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्दै विद्युत् व्यवस्थापनमा सहयोग गर्न गत वर्ष जस्तै आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबैको सहयोगले गत वर्ष जस्तै यस वर्षको हिउँदमा समेत विद्युत् व्यवस्थापनमा आफूहरु सफल हुने बताए ।

प्राधिकरणले यस वर्ष नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाएको २५ मेगावाटको सौर्य ऊर्जा उत्पादन प्रणाली प्रक्रियामा देखिएको विवादका कारण रोकिन गयो । कुलेखानी तेस्रो आयोजनामा निर्माण व्यवसायीले धोका दिए पनि निर्माण शुरु भएको करिब ११ वर्षपछि ३० मेगावाट क्षमताको चमेलिया आयोजना निर्माण सम्पन्न भएको छ । सो आयोजनाका कारण सुदूर र मध्यपश्चिममा विद्युत् व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ ।