राजनीति

एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक मिलन बिन्दुको खोजी

काठमाण्डौ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताको पहल शुरु भए पनि कुन वैचारिक सिद्धान्तका आधारमा एकीकृत पार्टी सञ्चालित हुने भन्नेमा खासै बहस भएको देखिँदैन ।

पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलका कारण निर्वाचनमा सफलता हासिल गरेको वाम गठबन्धनले नयाँ सरकार गठन र पार्टी एकताको गृहकार्य एकैसाथ गरिरहँदा वैचारिक विषय ठूलो विवादको विषय नबनेको देखिन्छ ।

माक्र्सवादी विचारको समान दर्शनमा रहे पनि क्रान्तिको सिद्धान्त र कार्यनीतिका सन्दर्भमा यी दुई शक्तिबीच विगतमा फरकफरक दृष्टिकोण देखिँदै आएको थियो । एमालेले जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रले एक्काइसौँ शताब्दीको जनवादलाई मार्गदर्शन सिद्धान्त मान्दै अघि बढिरहेका सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको संविधान जारीपछि दुवैले आफ्ना विचार र कार्यक्रममा दूरी घटेको मानेका हुन् ।

जननेता मदन भण्डारीले विसं २०४९ मा एमालेको पाँचौँ महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ले शान्तिपूर्ण तरिकाबाट समाजको रुपान्तरण भनेको छ भने भूमिगत अवस्थामै विसं २०५७ मा माओवादीले पारित गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’मा विचार मिल्ने शक्तिसँगको एकता, सहकार्य र प्रतिस्पर्धालाई प्राथमिकतामा जोड दिएको छ । त्यसपछि क्रमशः माओवादी हिंसात्मक आन्दोलनबाट शान्ति प्रक्रियामा आएको हो ।

विसं २०६९ मा हेटौँडामा भएको माओवादीको सातौँ राष्ट्रिय सम्मेलनले शान्तिपूर्णरुपमै समाजको रुपान्तरणको नीति पारित गरेको थियो । दुवै पार्टीले लोकतान्त्रिक मान्यता, विधिको शासन, आवधिक निर्वाचन, मानवअधिकार, प्रेस स्वतन्त्रतालाई मान्दै आएका छन् । दुवैका हालका सिद्धान्त थाती राखेर एकीकृत पार्टीको सिद्धान्तका बारेमा आन्तरिक छलफल बढाउँदै एकता महाधिवेशनले टुंगो लगाउने वा तत्कालै साझा सिद्धान्त तय गर्ने भन्नेमा पार्टी एकता संयोजन समितिमा परामर्श चलिरहेको छ । एमाले र माओवादी केन्द्रबीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकतासम्बन्धी सहमतिको घोषणा भएको थियो ।

नयाँ संविधानको प्रस्तावनामा उल्लेखित ‘समाजवादउन्मुख’ शब्दावलीलाई मुख्य आधार मान्दै एमाले र माओवादी केन्द्रले एकतापछिको वैचारिक सिद्धान्त र कार्यक्रमको नाम जे राखे पनि अबको बाटो ‘लोकतान्त्रिक समाजवाद’ हुने माक्र्सवादी चिन्तक एवं विष्लेषकले बताएका छन् ।

वरिष्ठ साहित्यकार एवं चिन्तक डा मोदनाथ प्रश्रित हिंसाबाट नभई शान्ति तथा लोकतान्त्रिक बाटोबाट समाजवादमा पुग्नुपर्ने भएकाले आपसी समीकरणका आधारमा सिद्धान्तको नामाकरण हुने बताउँछन् ।

उनले कम्युनिष्ट फुटेर नभई जुटेर नै समाज रुपान्तरणको क्रान्तिमा होमिनुपर्छ भन्नेमा दुवै पार्टीका नेता ढिलै भए पनि आइपुग्नु सकारात्मक हो भने ।

विश्लेषक एवं पूर्वसभासद् हरि रोका पनि पूँजीवादी जनवादी क्रान्तिको चरण पार भइसकेकाले एकीकृत पार्टीले समाजवादी लोकतन्त्रको विचार बोक्नुपर्नेमा जोड दिन्छन् ।

साहित्यकार हरिगोविन्द लुईंटेलले अहिलेको पार्टी एकताको प्रस्ताव नै शान्तिपूर्ण रुपान्तरणको विचारको जगमा आएकाले आगामी दिनमा अपनाइने सिद्धान्तको विषय ठूलो मुद्दा नबन्ने बताए । उनले दुई पार्टीबीचको कार्यकर्ता तहमा एकले अर्कोलाई निल्ने वा विलय गर्ने भन्ने मनोवैज्ञानिक त्रासको व्यवस्थापन गरिए अन्य विषयले पार्टी एकतालाई नकारात्मक असर नगर्ने विचार व्यक्त गरे ।