पु.समाचार

कालीकोटमा म्यादी प्रहरी र स्थानीयको प्रदर्शन जारी, मान्मा बजार तनावग्रस्त

जुम्ला । प्रहरीको गोलीबाट एक म्यादी प्रहरीकोमृत्यु भएपछि स्थानीयवासी र म्यादी प्रहरीले कालिकोटमा प्रदर्शन गरेका छन् ।

निर्वाचनमा खटिएका म्यादी प्रहरीले ज्याला कम भएको गुनासो गरेको प्रदर्शनमा शुक्रबार गोली चलेपछि म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको हो । प्रदर्शनकारीले मृतक ऐरीलाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने, म्यादी प्रहरीको घोटला गरिएको रकम फिर्ता गर्नुपर्ने, घटनाका दोषी प्रहरीलाई तुरुन्त कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।  उनीहरुले उचित क्षतिपूर्ति र मृतकलाई सहिद घोषणा नगरेसम्म शव नबुझने चेतावनी दिएका छन् ।

प्रशासनले भने घटनालाई साम्य बनाउन भन्दा भड्काउन लागि परेको स्थानीयको आरोप छ । स्थानीय प्रशासनले म्यादी प्रहरीको मृत्यु गोलीबाट नभइ ढुंगाले लागेको चोटका कारण भएको बताएपछि उनीहरु थप आक्रोशित बनेका हुन् ।

आजै विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले म्यादी प्रहरीको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

सुरक्षाका लागि सुर्खेत र जुम्लाबाट थप सुरक्षाकर्मी झिकाइएको जिल्ला प्रसाशन कार्यलयले बताएको छ ।