राजनीति

तीन साताभित्र ओलीको नेतृत्वमा नयाँ सरकार !

काठमाण्डौ । नेकपा एमाले सचिव प्रदिप ज्ञवालीले तीन साताभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् ।

सचिव ज्ञवालीले दुई दिनभित्र प्रतिनिधिसभा समानुपातिक तर्फको मत परिणाम घोषणा हुनबित्तिकै सरकार गठन प्रक्रिया अघि बढने स्पष्ट पारे ।

शनिबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार गठनको विषयलाई राष्ट्रिय सभाको निर्वाचनसँग जोडेर अनावश्यक भ्रम सृजना गर्न खोजिएको आरोप पनि लगाए ।

सचिव ज्ञवालीले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया दुवै पार्टीको योगदानको उच्च सम्मान गर्दै अघि बढ्ने बताए । उनले दुई पार्टीबीच एकता हुँदा नेताहरुले आफ्नो क्षमता र योगदान अनुसारको जिम्मेवारी पाउने पनि उल्लेख गरे । सचिव ज्ञवालीले दुवै पार्टीबीच ओलीलाई सरकारको नेतृत्व दिने विषयमा कुनै विवाद नरहेको दावी पनि गरे ।

उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी आर्थिक समृद्धिको दिशामा अघि बढ्ने चुनावी घोषणा पत्र कार्यान्वयनमा नयाँ सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुने स्पष्ट पारे।

सचिव ज्ञवालीले नयाँ सरकारले १० वर्ष भित्र मुलुकलार्इं समृद्ध बनाउने लक्ष्यका साथ काम गर्ने योजना पनि अघि सारे । उनले अब मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको दावी समेत गरे ।