खेलकुद

रोनाल्डो र मेस्सीबीच महाभिडन्त, कसले मार्ला बाजी ?

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा जारी सिजनको बहुप्रतिक्षित एल क्लासिको भिडन्त शनिबार हुँदै छ । स्पेनिस लिगमा मात्रै नभई विश्वमा नै सर्वाधिक धेरै रुचाइने प्रतिस्पर्धाका रूपमा लिइने बार्सिलोना र रियल म्याड्रिडबीचको सिजनको पहिलो भेटमा बाजी कसले मार्ला भन्ने अनुमान भइरहँदा शनिबारको खेल उपाधि होडमा बार्सिलोनाका लागि भन्दा रियलका लागि थप महत्वपूर्ण रहेको छ ।

फुटबल इतिहासमा यी दुवै क्लबलाई एक–अर्काका दुश्मनका रूपमा समेत लिइन्छ । एल क्लासिकोमा हारको सामना गर्नु भनेको खेलाडीले लज्जास्पद हार भोगेको लिने गर्छन् । जित प्राप्त गर्ने टोलीले आफू स्पेनिस लिगकै नम्बर वान क्लबका रूपमा दाबी गर्ने गर्छन् । रियल र बार्सासँगै यस खेललाई लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्तका रूपमा समेत लिने गरिन्छ । यी दुईबीच पछिल्ला केही वर्ष बालान डिओरदेखि लिएर विभिन्न अवार्डमा आफूलाई उत्कृष्ट देखाउने होड चलिरहँदा एक–अर्काविरुद्धको भिडन्त महत्वपूर्ण मान्ने गरिएको छ ।

रियललाई अवसर

गत सिजनको अन्तिम एल क्लासिकोमा बार्सिलोनाले खेलको अन्तिम १४ सेकेन्डमा रियललाई स्तब्ध पारेको थियो । मेसीले आप्mनो उत्कृष्ट ड्रिब्लिङ प्रदर्शन गरी रियलको पोस्टमा अन्तिम १४ सेकेन्डमा गोल गरी बार्सिलोनालाई २–१ को सनसनीपूर्ण जित दिलाएका थिए ।

त्यो हार अहिलेसम्म पनि रियलका खेलाडीले भुल्न सकिरहेका छैनन् । मेसीले रियलको मुखबाटै खेल खोसेर लगेका थिए । यसपटकको पहिलो एल क्लासिकोमा रियलसमक्ष बार्सिलोनालाई हराउँदै गत सिजनको बदला लिने मौका रहँदा जारी सिजन बार्सिलोनाविरुद्ध अंक घटाउने अवसर पनि हुनेछ।

तर, रियलका लागि बार्सिलोनाविरुद्ध भेट भने मुस्किल हुने पक्का छ । जारी सिजन राम्रो चल्न नसक्दा आफ्नो पुरानो लयमा फर्किनु रियलका लागि चुनौती हुनेछ ।

यसविपरीत बार्सिलोनाले भने सिजनमा उत्कृष्ट खेल जारी राख्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । आफ्नो उत्कृष्ट प्रदर्शनले बार्सिलोनाले रियलविरुद्ध शीर्ष स्थानमा स्पष्ट ११ अंकको अग्रता कायम गरेको छ । यस्तो अवस्थाबाट हेर्दा बार्सिलोना अब उपाधिको होडमा निकै अघि निस्किसकेको छ ।