राजनीति

काँग्रेसलाई भोट हालेको भन्दै गुल्मीका माझी कुटिए

गुल्मी । गुल्मीको दरबार गाउँपालिका वलिथुममा बसोबास गर्ने माझीहरु न्याय खोज्दै सदरमुकाम तम्घासमा आएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मासँग न्यायका लागि अपिल गरेका थिए ।

स्थानीय लोकबहादुर राकसकोटी, कमल थापा लगायतका व्यक्तिहरुले आफूमाथि कुटपिट गरेको भन्दै किटानी जाहेरीसमेत दिएका माझीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी समक्ष सुरक्षाको समेत माग गरेका छन् ।

चुनावको बेला कांग्रेसलाई भोट दिएको भन्दै आफुहरु माथि कुटपिट भएको मनिकला माझीले बताईन् । ‘बुढाबुढी पनि भनेनन्, बच्चाबच्ची पनि भनेनन्, हामी सबैलाई कुटे’ प्रेम बहादुर माझीले भने ।

उनले थपे, ‘सहरी बिकास कार्यक्रम अन्तर्गत बन्न लागेका घरहरू इन्जिनियर सरले भनेअनुसार बनाएका छौं, तर हामीलाई यो छड् भएन त्यो गारो भएन भन्दै दुःख दिइरहेका छन् ।’

पुर्व सांसद चन्द्र भण्डारीको पहलमा वन्न लागेको माझी बस्ती र विद्यालय भवनको निर्माण कार्यमा समेत आफुलाई कुटपिट गर्नेहरुले अवरोध गरेको माझीहरुले बताएका छन् । वलिथुमबाट आएका ४० जनाभन्दा बढी माझीहरूको कुरा सुनेपछि निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले दोषीहरुलाई कारबाही गरिने र शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने आश्वासन दिए पछि माझीहरु घर फर्किएका थिए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले माझीगाउँमा भएको घटनाको छानबिन गरी दोषीहरुलाई कारवाही गर्नको लागि माग समेत गरेका छन् । पुर्वसांसद भण्डारीले माझीका लागि ४ सय ओटा घर बनाउने घोषणा गर्नु भएको थियो भने हरेक बर्ष तीनै माझी बस्तीहरुमा उनले दशै मनाउने गरेका छन् ।

चार वर्ष अगाडिसम्म विकास र अधिकारका कुरा थाहा नपाएका माझीहरु अहिले विकास र अधिकारका लागि आफै सक्रिय हुन थालेका छन् । उनीहरुको चेतनास्तरमा धेरै सुधार आएको पुर्वसांसद भण्डारीले बताए ।