राजनीति

प्रदेश नम्बर ६ को राजधानी कर्णाली नबनाए कडा आन्दोलन गर्ने चेतावनी

जुम्ला । जुम्लाका सबै दलले ६ नम्बर प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

नेपाल पत्रकार महासंघ र नागरिक समाज जुम्लाको संयुक्त आयोजनामा भएको छलफलमा नेपालको संविधानले प्रदेश राजधानी तोक्ने आधार पहिचान र सामथ्र्य व्यवस्था गरेको भन्दै राजधानी कर्णाली नै हुने निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा पूर्वसभासद् देवीलाल थापाले पहिचान र सामथ्र्यलाई आधार मानेर १०० पूर्णाङ्कमा दुवै जिल्लाको मापन गर्दा जुम्लाले ७५ र सुर्खेतले २५ अंक ल्याउने दाबी गरे ।

उनले भने,‘सरकारले लादेर भए पनि सुर्खेतलाई राजधानी बनाउने हिसाबले अस्थायी राजधानी प्रस्ताव गरेको छ, यसमा कर्णाली संवेदनशील भएर जाग्नुपर्छ ।’

नेकपा एमाले जुम्लाका प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरीले सुर्खेतलाई अस्थायी राजधानी बनाइए कर्णालीबासीका लागि अन्याय हुने बताए ।

नेपाली कांग्रेसका नेता देवेन्द्र शाहीले कुनै पनि हालतमा राजधानी कर्णालीमा हुने ठोकुवा गरे। उनले अब राजधानीका लागि एक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले सामथ्र्य र पहिचानको अधिकतम मापदण्डभित्र पर्ने कर्णालीमा राजधानी तोक्न राज्यले कञ्जुस्याइँ गरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । रासस