पु.समाचार

पार्टी एकता र समानुपातिक सांसदको टुंगोबारे माओवादी अध्यक्ष दाहालले गरे यस्तो खुलासा

भैरहवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन् ।

‘आजका पत्रपत्रिकामा माओवादीका समानुपातिक सांसदको लिष्ट आएको रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएको छैन’, शनिबार भैरहवाको एक कार्यक्रममा बोल्दै नेता दाहालले भने, ‘तपार्इहरु त्यसको भ्रममा नपर्नुहोला । निर्वाचन आयोगले माग्ने बित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं ।’

एक९दुई जनाले विरोध गर्दैमा पार्टी एकता नरोकिने भन्दै उनले भने, ‘शीर्ष नेताबीच पार्टी एकताबारे कुनै समस्या छैन र कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन् ।’

अब विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छ भन्दै प्रचण्डले थपे, ‘कुन नेताले के भने, त्यसको पछि नलाग्नुस् । एमाले९माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् । तर, हामी सबै एकताप्रति इमान्दार छौं । हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं। एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस् । बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस् ।’

अध्यक्ष दाहाल र चक्रपाणि खनाल बलदेवको सम्मानमा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सभासम्बन्धी देखिएको विवाद छिट्टै अन्त्य हुने बताए । उनले भने, ‘बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद छलफलबाटै टुङ्गिन्छ । अब देश राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्छ ।’