आर्थिक

एसइई परीक्षाका लागि विद्यालयलाई थप २५ हजार

महोत्तरी । जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई २५ हजार दिएको छ । आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि सो रकम उपलब्ध गराइएको हो ।

जिल्लाको ८५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यपुस्तक पूर्णरुपमा तयारी गराउनका लागि रु २१ लाखभन्दा बढी रकम छुट्याएको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिए । सम्बन्धित विद्यालय वा अन्य शिक्षकद्वारा पूर्णरुपमा सो विषयका कोर्ष तयारी गर्ने शिक्षकलाई सो रकम दिइने जिल्ला शिक्षा अधिकारी दाहालले बताए ।

महोत्तरीमा २० वटा निजी तथा ८५ वटा सामुदायिक गरी १०५ माविका आठ हजारभन्दा बढी विद्यार्थी सो परीक्षामा सहभागी हुने बताइएको छ ।