राजनीति

म्यादी प्रहरीमाथिको गोली काण्डमा मात्र होइन, अर्को काण्डमा पनि प्रहरी मुछिने संकेत !

काठमाण्डौ । निर्वाचन सम्पन्न भएलगत्तै अहिले मुलुकभर सबै म्यादी प्रहरीहरुलाई सहकर्मी प्रहरी अफिसरहरुले कार्यभार राम्रोसँग सम्पन्न गरेकोमा बधाई दिँदै विदाई गरिरहेका छन् ।

मुलुकका प्रायः सबै जिल्लाहरुमा म्यादी प्रहरीको टिम अबिर र फूलमाला लगाएर विदाई भैरहेको छ । तर केही जिल्लाहरुमा म्यादी प्रहरी र सहकर्मी प्रहरीहरुबीचमै भीडन्त भई ज्यान समेत गएका खबरहरु बाहिर आइरहेका छन् ।

शुक्रबार मात्र कालिकोटको मानमा बजारमा प्रहरीको गोली लागेर एक म्यादी प्रहरीका जवानको मृत्यु भएको छ । म्यादी प्रहरीले पाउनुपर्ने हिसाबको विषय माग गर्दा जिल्लाकै २१ वर्षीय विवेक ऐडी भन्ने म्यादी प्रहरीका जवान कार्यालयको ढोकामै ढले र उनका केही साथीहरु घाइते भए । केहीबेर अघिमात्र अबिर र माला लगाएर विदाई गरेको प्रहरीले नै सहकर्मीहरुमाथि गोली चलायो र एकजना साथीको ज्यान लियो ।

त्यस्तै, केही दिन अघिमात्र दोलखा सदरमुकाम चरिकोटमा पनि यस्तै म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो । चरिकोटमा पनि म्यादी प्रहरीले आफुहरुको माग र सम्झौता अनुसारको रासन–भत्ता नपाएको गुनासो लिएर प्रहरी कार्यालय पुगेका थिए । त्यहाँ पनि प्रहरीले म्यादीमाथि लाठी बजारेको थियो ।

यसरी केही जिल्लाहरुमा प्रहरी र म्यादीबीच झडप भयो भने अधिकांश जिल्लाहरुमा प्रहरीले उनीहरुलाई स–सम्मान विदाई समेत गरेका देखियो । तर झडप भएका जिल्लाहरुमा सरकारले किन उनीहरुमाथि गोलीसम्म चलायो ? यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने देखिन्छ ।

करिब ३ हजार रुपैयाँ तलमाथि हुँदा त्यसको व्यवस्थापन गर्न नसक्ने प्रहरी प्रशासन र त्यसका लागि चासो नदिने सरकारले चुनावभर बम र गोली बर्साउने नेत्रविक्रम चन्द लगायतको समुहलाई भने छुनेसम्म काम गरेन ।

केही आरोपित व्यक्तिहरुलाई भने चुनावभर हिरासतमा राखेर छाडिदियो तर चुनावभर सँगै रहेर तिनै चुनौतीहरुको सामना गर्ने सहकर्मीहरुमाथि गोली चलाउने प्रहरी प्रशासनलाई के भन्ने ? कालिकोट घटनाका सम्बन्धमा पनि गम्भीर रुपमा छानविन हुनुपर्ने भन्दै स्थानीय वासिन्दा र म्यादी प्रहरीले प्रदर्शन गरेका छन् । यो विषयमा सरकारले कुनै प्रतिजवाफ फर्काएको छैन ।

प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालय कालिकोटले सुरुमा सबै कुरा मिलाएर विदाई गरिसकेका म्यादी प्रहरीहरु आएर प्रहरी कार्यालय घेराउ गरेकोले दुःखद घटना हुन पुगेको जनाएको छ । यद्यपि, तलब,भत्ता र रासनका विषयमा के कुरा भएको थियो भन्ने कुरा केही खुलाइएको छैन ।

प्रहरी प्रशासनभित्र भएको आर्थिक हिनामिनाका कारण म्यादी प्रहरीले आवाज उठाएको प्रस्टै बुझ्न सकिन्छ तर उनीहरुको आवाजलाई गोलीले दबाउन खोजेको यो घटनाबाट पुष्टि हुन्छ ।

विवेक ऐडीको मृत्युको छानविन त होला तर कालिकोट र चरिकोटमाझै देशैभर प्रहरीभित्र यसरी नै आर्थिक अराजकता मच्चिएको हो भने त्यहाँ करोडौ रुपैयाँको चलखेल भएको अनुमान गर्न सकिन्छ । यो सवालमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

यसरी हुने गर्छ घोटाला !
केही दिनअघि दोलखाको चरिकोटमा भएको म्यादी प्रहरी र प्रहरीबीचको झडपको कारण पनि रासनभत्तामा अन्याय गरिएको कारण हो भन्ने कुरा बाहिर आएको थियो ।

म्यादी प्रहरीले आफुहरु र प्रहरीले दैनिक खाने खानाको रकममा तलमाथि पारेर अन्याय गरेको आरोप लगाएको थियो । म्यादीले आफुहरुलाई खानाको दैनिक ९० रुपैयाँ कटाएको र प्रहरीको भने ६० रुपैयाँ कटाउने गरेको गुनासो गरेका थिए ।

त्यस्तै अन्य सुविधामा पनि प्रतिशत कटाउने निर्णय गरेपछि चरिकोटमा झडप भएको थियो । त्यस्तै,कालिकोटमा पनि म्यादीले आर्थिक सुविधाका सवालमा तलमाथि गरिएको भन्दै आवाज उठाउँदा गोली खानुपरेको यथार्थता बाहिर आएको छ ।

यी दुई जिल्लाको घटनालाई हेर्दा म्यादी प्रहरीको संरचनाभित्र प्रहरी प्रशासनबाट हुने हस्तक्षेप र आर्थिक घोटला हुने कुरा छर्लङै देखिएको छ । यदि यो कुरा सही हो भने मुलुकका ७७ वटै जिल्लाहरुमा पनि यसरी आर्थिक अराजकता हुन सक्ने सम्भावना प्रवल देखिन्छ ।

यो विषयमा पनि सरोकारवालाहरुले तुरुन्तै छानबिन गर्नुपर्ने देखिन्छ । यसमा सबै पक्षको सहयोग र हातेमाले आवश्यक रहेको सम्बधित क्षेत्रका सरोकारवालाहरु बताउन थालेका छन् ।