शिक्षा

विद्यालयलाई रु एक करोड सहयोग

बेनी, म्याग्दी । बेनी नगरपालिका–४ सिंगास्थित धौलागिरि माविले शुक्रबार आयोजना गरेको भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रमबाट रु एक करोड दुई लाख सहयोग प्राप्त भएको छ ।

कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक सहयोग गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी डा मीनबहादुर श्रेष्ठले प्राविधिक शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधार विस्तारसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन दक्ष जनशक्ति र पर्याप्त पूर्वाधार हुनुपर्ने बताए ।

प्रदेशसभाका नवनिर्वाचित सांसद विनोद केसीले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकास तथा नीतिगत सुधारका लागि आफू प्रतिबद्ध रहेको बताए । गत वर्ष कक्षा ११ को मान्यता प्राप्त गरेपछि शिक्षा र व्यवस्थापन संकाय सञ्चालन गरिरहेको विद्यालयले अर्थ संकलन गरी भौतिक पूर्वाधारका साथै प्राविधिक कक्षा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका अध्यक्षको लगानीमा सडक
रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले व्यक्तिगत रुपमा रु तीन लाख ५० हजार खर्च गरेर गाउँपालिका–६ पाखापानीमा सडक निर्माण गर्नुभएको छ । पाखापानीको फुलडाँडा–औल गाउँ जोड्ने करिब डेढ किमी सडक विस्तार भएपछि ३५ घरधुरी लाभाविन्त भएका छन् ।
करिब रु ३७ लाख लगानीमा बेनी–झीँ– पाखापानी सडक, रु १३ लाखको लागतमा पाखापानी–कुइनेमंगले सडकका साथै गाउँपालिकाभित्रका बस्तीमा सहायक सडकको पनि विस्तार भइरहेको छ ।