प्रवास

सेयर बजारमा दश अर्ब लगानी गर्ने एनआरएनएको तयारी

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली सेयर बजारमा दश अर्बसम्म लगानी गर्न सक्ने संकेत दिएको छ । सो संघका पदाधिकारीहरुले सेयर बजारमा दश अर्ब लगानी गर्ने मनस्थितिमा आफुहरु रहेको बताएका हुन् ।

नेपाल धितो पत्र बोर्डको बैठकमा संघका पदाधिकारीहरुले नेपालको पूँजी बजारमा संस्थागत रुपमा लगानी गर्न एनआरएनए तयार रहेको जनाएका छन् । बैठकमा संघका अध्यक्ष भवन भट्टले अधिक रुपमा छरिएर रहेका एनआरएनएहरु नेपालको पूँजी बजारमा लगानी गर्न तयार रहेको बताएका छन् ।

बैठकमा भट्टले धितोबोर्ड लगायतका नेपालका कार्यरत सरकारी निकायहरुले त्यो वातावरण बनाइदिन समेत आग्रह गरेका थिए ।  अध्यक्ष भट्टको प्रस्तावमा बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले त्यसका लागि नीतिगत व्यस्था गरेरै जानुपर्ने भएको बताउँदै त्यसका लागि काम सुरु भैसकेको बताएका छन् ।

धितोपत्र बोर्ड र एनआरएनएका पदाधिकारी सम्मिलित बैठकमा बोर्डले एनआरएनएले अझै बढी अपेक्षा गरेका विषयहरुलाई लिखित रुपमै पठाउन आग्रह गरेको थियो ।