राजनीति

सरकार गठन लम्बिने संकेत, राष्ट्रियसभा गठनमा दलहरुका अडान यथावत्

काठमाडौँ । राष्ट्रियसभा गठन निर्वाचन प्रणालीमा सहमति जुटाउन बसेको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख पाँच दलका शीर्ष नेताको बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनसम्बन्धी विषयमा छलफल भएको थियो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा रहेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता पौडेलले भने, “विवाद कायमै छ, हामीले हाम्रो धारणा राख्यौँ, राष्ट्रपति कार्यालयमा सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि मात्र प्रतिनिधिसभाको निर्वाचन पूर्णरुपमा सम्पन्न हुने र नयाँ सरकार गठनको बाटो खुल्छ ।”

नेकपा (एमाले) बाहेक अरु पार्टी एकल संक्रमणीय प्रणालीमा सहमत भएको जानकारी गराउँदै उनले वर्तमान सरकारले सत्ता हस्तान्तरण गर्ने बाटो खोल्न काँग्रेसले बैठकमा आग्रह गरेको बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा सहमतिका लागि आग्रह गर्नुभएको र त्यसमा सहमति जुट्न नसकेको जानकारी दिए ।

यसबाहेक बैठकमा अध्यादेशमा रहेको निर्वाचन प्रणाली वर्तमान संविधानअनुसार लागू गर्न देखिएका चुनौती र निर्वाचनको जनादेशपछि नयाँ सरकार गठनका बारेमा पनि बृहत्रुपमा छलफल भएको नेता श्रेष्ठले बताए ।

पाँच दलको बैठकअघि प्रमुख सत्तारुढ दल काँग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरमको संयुक्त बैठक बसेर तीन दलले एकल संक्रमणीय निर्वाचन प्रणालीमा एकमत जनाएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित थिए ।