पु.समाचार

सबैले बिधिको शासनलाई अबलम्बन गरौंः प्रधानन्यायाधीस

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले विधिको शासनको अवलम्बन गर्ने कानून व्यवसायीलाई संविधान र कानूनको पालना गर्न आग्रह गरेका छन् ।

नेपाल बार एसोसिएसनको ६१औं दिवसका अवसरमा यहाँ आज आयोजना गरिएको कार्यक्रममा उनले स्वतन्त्र न्यायपालिका, संविधान र कानूनको व्याख्या गर्ने कानून व्यवसायीले इमान्दारीपूर्वक कानूनको पालना गर्न आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीश पराजुलीेले न्यायालयको एक्लो प्रयासले मात्र नागरिकमा न्यायको पहुँच नपुग्ने भएकाले बेञ्च र बारबीच राम्रो सम्बन्ध स्थापना हुनु जरुरी भएको उल्लेख गरे । उनले न्याय महँगोे भयो भन्ने गुनासो आइरहेको भन्दै एक महिनाभित्र मुद्दा अनलाइनमार्फत दर्ता गर्ने व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले कानून व्यवसायी दृष्टि र सृष्टि दुवै भएको भन्दै संविधानले दिएको जिम्मेवार र इमान्दार भई पालना गर्नुपर्नेमा जोड दिए ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले लोकतन्त्रमा निष्पक्ष र प्रभावकारी न्याय दिलाउनका लागि न्यायपालिकाको ठूलो भूमिका रहेको चर्चा गरे ।

उनले संविधान र कानूनको कार्यान्वयनमा राजनीतिकभन्दा माथि उठेर बहस गर्नुपर्नेमा जोड दिँदै कानून व्यवसायीको क्षमता विकासका लागि सरकारले सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले कानून व्यवसायीले इमान्दारीपूर्वक नागरिकलाई न्याय दिलाउन लागिरहेको बताए ।

सो अवसरमा पूर्वकानूनमन्त्री अग्नि खरेल, अजय शंकर नायक तथा वरिष्ठ अधिवक्ताको उपस्थिति रहेको थियो ।