कृषि

फष्टाउँदै मौरीपालन व्यवसाय

अर्घाखाँची । जिल्लाको ढिकुराको माहुरीपालक कृषक शुभप्रकाश खनाल अचेल माहुरीको स्याहारसुसारमा व्यस्त छन् । मौरीपालन शुरु गर्नुभन्दा पहिले उनी भारतमा मजदुरी गर्थे ।

खनालले एक हप्तामा आधुनिक घारबाट पाँच किलो मह काढ्छन् । मुढे घारमा भन्दा आधुनिक घारमा बढी मह उत्पादन हुने उनी बताउछन् । खनालसँग अहिले ४२ आधुनिक घार र १० वटा मुढेघार रहेका छन् ।

“दुई क्विन्टल मह उत्पादन गर्ने लक्ष्य छ,” उनले भने । मौरीपालन व्यवसायबारे जानकारी लिन विभिन्न जिल्लाबाट कृषक उनको घरमा आउने गरेका छन् । विसं २०४५ देखि खनालले सो व्यवसाय शुरु गरेका हुन् ।

“व्यवसाय शुरु गरेको तीन वर्षमै सबै घार रित्तिए, हतार नगरीकन बसेँ, विस्तारै व्यवसाय फस्टाउँँदै गयो,” उनले विगत सुनाए । उनी जिल्लाकै नमूना कृषक हुन् । उनले पशुपालन, तरकारीखेती, फलफूल खेती र कफी खेती समेत गर्दैआएका छन्। जिल्लामै पहिलोपटक मौरीपालन व्यवसाय शुरु गरेका खनालले अहिलेसम्म सरकारी अनुदान पाएका छैनन् ।

जिल्लामा अहिले वार्षिक नौ मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरलाल गैरेले बताए । यसबाट रु ९० लाख आम्दानी भएको छ । जिल्लाका ठाडा, ढिकुरा, धनचौर, नुवाकोट, अर्घातोष र सुवर्णखाललाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ