पु.समाचार

प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा यसरी भयो म्यादीको मृत्यु

कालीकोट । प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मात्र मृत्यु भएको छ ।

प्रहरीले म्यादी प्रहरीको तलब यसअघि रु २४ हजार भुक्तानी भइसकिएको र अब रु ३४ हजार २५० दिइने भने पनि चित्त नबुझेकाले विरोध जनाएर ज्ञापनपत्र बुझाउन आउँदा म्यादी प्रहरीमाथि लठ्ठी प्रहार भएको थियो । अहिले कालीकोटको अवस्था तनावग्रस्त छ ।
जिल्लामा शैक्षिक मेला भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास र गोली प्रहार गर्दा करिब १० बालबालिका हराइरहेको बताइएको छ । प्रहरीले माथिको आदेशभन्दा पनि मनोमानी तरिकाले गोली चलाएको आरोप म्यादी प्रहरीले लगाएका छन् । प्रहरीले भने आफूले अश्रुग्यास मात्र हानेको तर गोली नचलाएको जिकिर गरेको छ ।