राजनीति

गगन थापा र धनराज गुरुङले कदम उठाएलगत्तै देउवाले चाले यस्तो कदम !

काठमाण्डौ । नेपाली कांग्रेसभित्र अहिले चनावी पराजय लगत्तै पार्टी पुनःनिर्माणको बहस चुलिएको छ । त्यसका लागि अहिले कांग्रेसभित्रैका युवा नेताहरुको एउटा समुह सक्रिय भएर लागेको प्रस्ट देखिएको छ । केही दिनअघि बानेश्वरमा एक दर्जनभन्दा बढी कांग्रेसका युवा नेताहरु भेला भएर पार्टी पुनःनिर्माणको विषयमा घनिभूत छलफल गरे ।

बुधबार आयोजित सो भेलामा चुनाव जित्ने र अत्याधिक मत ल्याएर पराजय बेहोर्ने युवा नेताहरु पनि सहभागी थिए । काठमाण्डौबाट चुनाव जितेका गगन थापा,तनहुँबाट अत्याधिक मत ल्याएर पनि झिनो मतान्तरमा चुनाव हारेका प्रदिप पौडेल,चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका युवा नेताहरुले अब कांग्रेसको रुपान्तरण अनिवार्य भएको भन्दै आन्तारिक रुपमा बहस चर्काउन थालेका हुन् ।

गोप्य भनिएको सो भेलामा चुनाव हार्नुमा पार्टी नेतृत्वको कमजोरी, अस्तव्यस्त सांगठनिक संरचना, चुनावको मुखमा वितरण गरिने टिकटमाथिको हालिमुहाली लगायत पार्टीभित्र हुने गम्भीर कमजोरीका बारेमा गम्भीर छलफल भएको थियो । युवा नेता गगन थापाले त यसअघिनै पार्टी नेतृत्व परिवर्तनका विषयमा पटक–पटक अभिव्यक्ति दिँदै आइरहेका छन् ।

पार्टी रुपान्तरणका लागि भन्दै बसेको यो भेलाले अब कांग्रेसभित्रका युवा नेतृत्व सक्रिय हुने संकेत त देखिएको छ तर यसअघि यसरी नै बस्ने भेलालाई पूरानो र बुढो पार्टी नेतृत्वले लत्याएर अघि बढेका थुप्रै प्रमाणहरु भेटिएका छन् । अहिले पनि युवा नेतृत्वले थालेको यो पहल कति सार्थक हुन्छ भन्ने कुरा आशंकाकै घेरामा रहेको देखिन्छ ।

पार्टी नेतृत्वले युवा पुस्तालाई नेतृत्व दिँदैन भन्ने प्रमाण त युवा नेताहरुको वानेश्वर भेलालगत्तै पार्टी सभापति शेरबहादुर देउवा पक्षका युवा नेताहरुको भेलाले नै पुष्टि गरिसकेको छ ।
मीनभवनमा गगन थापा र चन्द्र भण्डारीहरुले गोप्य भेला गरे भन्ने समाचार बाहिरिएलगत्तै देउवा निकट मानिने नैनसिंह महर,नेपाल महिला संघकी अध्यक्ष उमा मगर, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल लगायतका युवा नेताहरुको अर्को गोप्य भेला बसेको थियो ।

यसबाट के पुष्टि हुन्छ भने कांग्रेसभित्र पार्टी रुपान्तरणको बहस चलाउन खोज्ने युवा नेतृत्वलाई पार्टी केन्द्रीय नेतृत्वले सहज आँखाले हेर्ने गर्दैन । श्रोतका अनुसार गगन थापा र चन्द्र भण्डारीहरु जुटेलगत्तै सभापति देउवाकै निर्देशनमा उनी निकट युवा नेताहरुले भेला गरेका हुन् । यसले नेपाली कांग्रेसभित्र भोलिका दिनमा ठूलै टक्कर ल्याइदिन सक्ने अनुमान गर्न सकिन्छ ।