राजनीति

जनताले चाहेभने हामीले बनाएको संविधान परिवर्तन गर्न सक्छन्ः अध्यक्ष दाहाल

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधान र ऐन–कानुनको व्याख्या यथार्थभन्दा बढी राजनीतिक इन्ट्रेस्टमा भइरहेको बताएका छन् ।

देशभक्त गणतान्त्रिक मञ्चले बिहीबार काठमाण्डौमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनताको फैसलाका अगाडि ऐन कानुनको ब्याख्या सामान्य कुरा भएको दावी गरे ।

नेपाली काँग्रेसले ऐन कानुनलाई देखाएर सरकार छाडन आनाकानी गरिरहेको आरोप वाम गठबन्धनले लगाइरहँदा दाहालले यस्तो बताएका हुन् । ‘जनताले चाहेभने हामीले बनाएको संविधानलाई नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलक अण्डताबाहेक अन्य सबै परिवर्तन गर्न सक्छन् भनेर संविधानमै उल्लेख गरिएको छ’, उनले भने, ‘ऐन, कानुन त जनताको फैसाला अगाडि सामान्य कुरा हुन् ।’ उनले ऐन कानुन आदिका बहस निरन्तर रुपमा चल्दै आएको र चलिनै रहने बताए ।

उनले यस प्रकारका सामान्य बहसले स्थायित्व र विकासतिरको नेपाली जनताको फैसलालाई उल्ट्याउन नसक्ने दावी गरे ।

अध्यक्ष दाहालले वाम गठबन्धन र एसका एजेन्डालाई जनताले अनुमोदन गरेको बताएका छन् । उनले जनताले काँग्रेसलगायत पाँचवटै राष्ट्रिय पार्टीलाई जिम्मेवारी दिएपनि वाम गठबन्धलाई अझै बढी जिम्मेवारी थपिदिएको बताए ।

अध्यक्ष दाहालले नेता पनि समाज र जनताकै उत्पादन भएको भन्दै नेता, कलकार, वैज्ञानिक सबै जनताका उत्पादन भएको बताए । आफूलाई जनताले युद्ध, शान्तिकाल, गणतन्त्रको स्थापना, संविधान निर्माण र यसको कार्यान्यनमा विशेष भूमिका दिएको भन्दै जनताप्रति ऋणी रहेको बताए । इतिहासमा आफूले पाएजस्तो अवसर कमै व्यक्तिले पाउने भन्दै उनले यसलाई आवश्यकता र आकस्मिकताको संयोग भएको बताए ।

उनले वाम गठबन्धनलाई नयाँ युगको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै त्यसको उचित सदुपयोग गर्ने बताए ।