खेलकुद

यु–१६ का दुई खेलाडीलाई धनगढीमा सम्मान

धनगढी । हालै थाईल्याण्डमा भएको ईस्र्टन रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता वनेको टोलीका दुई जना सदस्यलाई धनगढीमा सम्मान गरिएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यु–१६ टोलीका सदस्यद्धय नारायण जोशी र सुवोध ऐरलाई गृह जिल्लामा सम्मान गरिएको हो । दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन भने उनीहरु अहिले सुदुरपश्चिाञ्चल एकेडेमीमा छात्रवृतिमा अध्ययन गरिरहेका छन ।

सुदुरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको सम्मान कार्यक्रममा खेलाडीद्धय जोशी र ऐरलाई प्रदेश नम्वर ७ का प्रादेशिक प्रहरी प्रमुख माधव नेपाल र कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले संयुक्त रुपमा सम्मान गरे । कार्यक्रममा दुवै जनाले खेलाडीहरुको उज्जवल भविष्यको कामना समेत गरे ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले स्वागत गरेको सम्मान कार्यक्रम सुदुरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

ईस्र्टन रिजन एसीसी यु–१६ क्रिकेट प्रतियोगिताको विजेता वनाउन नेपालका लागि नारायण जोशीको प्रदर्शन महत्वपुर्ण रह्यो । ५ वटै खेल खेल्न पाएका नारायणले पहिलो अन्तराष्ट्रिय डेव्यु खेलमा थाईल्याण्ड विरुद्धको खेलमा ५ विकेट लिए भने म्यानमार विरुद्ध ४ विकेट लिए । प्रतियोगिताभर उनले ११ विकेट लिए । व्याटिङ तर्फ फाईनलमा उनको सवैभन्दा राम्रो प्रदर्शन गरेका थिए । फाईनल खेलमा २३ वलको सामना गरेका उनले एक छक्का ५ चौकाको मदत्तले अविजित ४६ रनको पारी खेलेका थिए । सेमिफाईनलमा पनि १८ रनको योगदान दिएका थिए ।

यु–१६ नेपाली क्रिकेट टोलीका अर्का सदस्य सुवोधले दुई वटा मात्रै खेल खेल्ने मौका पाएका थिए । त्यसमा उनले फाइृनलमा २२ रन वनाएका थिए । जसमा ४ चौका प्रहार गरेका थिए ।

यसैवीच दुवै खेलाडीलाई निशुल्क रुपमा उक वर्षको क्रिकेट प्रशिक्षण दिईने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले खर्च व्यहोर्ने गरी ६ महिनाको भारत र ६ महिनाको श्रीलंकामा क्रिकेट प्रशिक्षण दिईने भएको हो । उनीहरुको प्रदर्शनलाई अझ निखार्नका लागि निशुल्क प्रशिक्षणका लागि दुवै जनालाई पठाउने सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले सम्मान कार्यक्रममा घोषणा गरे ।