पु.समाचार

बाजुरामा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच हानाहान, ८ को अवस्था चिन्ताजनक

बाजुरा । बुधबार साँझ स्थानीय भूवापर्वमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ८ जना गम्भीर घाइते भएका छन् । बाजुरा जिल्लाको गौमूल गाउँपालिका –४, साविकको मानाकोटमा स्थानीय भूवापर्वमा लोकतान्त्रिक र वाम दुवै गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो ।

झडप भएको ठाउँ एकैछिनमा रण भूमिमा परिणत भएको थियो । ढुङ्गा लागेर वाम गठबन्धन समर्थक ८ जना गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक हरि ओलीले बताए । प्रहरी बिहीबार बिहान सदरमुकाम मार्तडीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

घाइते हुनेहरुमा मानाकोट घोगालाका १४ वर्षीय रमेश रोकाया, ४० वर्षका देबे कामी, ४५ वर्षीय मन कामी, २७ वर्षीय मंगल बिक, ५५ वर्षीय बिर्के कामी, ४५ वर्षीय अशबहादुर कामी, ६० वर्षीय भिके बिक र ४२ वर्षीय नरेन्द्र रोकाया रहेका छन् । आफूहरुमाथि धारिलो हतियार, ढुङ्गा र लाठी प्रहार भएको घाइतेहरुले बताएका छन् ।
घाइतेहरुको हात, टाउको लगायत शरीरका विभिन्न अंगमा गम्भीर चोटपटक लागेको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा गौमूलका भुपाल रोकाया, धिरेन्द्र रोकाया, सुरत रोकाया, गोरख रोकाया, सागर रोकाया, घमण्ड रोकाया, धनगिरी रोकाया, लगायत १७ जनाविरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नरेन्द्र रोकाया र सुके रोकायाले सुरुमा बन्दुक पड्काएको प्रहरी जाहेरीमा उल्लेख छ ।