अन्तर्राष्ट्रिय

ट्रम्पको सुरक्षा रणनीतिबारे चिनियाँ राजदूतले यसो भने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसैसाता सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीतिमा विश्वव्यापी दृष्टिकोणको अभाव रहेको र त्यो वास्तविक रणनीतिजस्तो नै नभएको अमेरिकाका लागि चिनियाँ राजदूतले बताएका छन् ।

ट्रम्पको रणनीति सार्वजनिक भएको दुई दिनपछि राजदूत कुई तियानकाइले एक अन्तर्वार्तामा यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘वास्तविक रणनीतिजस्तो हुनका लागि यसमा विश्वव्यापी तथा अग्रगामी दृष्टिकोणका साथै रचनात्मक तथा सहकार्यमा आधारित अवधारणा हुनुपर्छ,’ राजदूत कुईले सिएनएनसँगको अन्तर्वार्तामा भने, ‘तर साँच्चै भन्ने हो भने यो रणनीतिमा यी कुराहरु छैनन् ।’

राजदूत कुईले चीनले विश्वव्यापी प्रभुत्व पनि नचाहेको स्पष्ट पारेका छन् ।

‘चीन विश्वव्यापी प्रभुत्व स्थापना गर्न खोजिरहेको छैन । आजको विश्वमा सबै राष्ट्रहरुले उस्तै समस्याको सामना गरिरहेका छन् र हाम्रा साझा स्वार्थहरु पनि बढिरहेका छन्,’ उनले भने ।

उनले अमेरिका र चीनबीच साझेदारी हुनुपर्ने पनि बताए ।