राजनीति

प्रहरीले मुद्दा दायर गरेपछि नवराज सिलवालले मुख खोले, के भने ?

काठमाण्डौ । नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर–१ का नवनिर्वाचित सांसद नवराज सिलवालले आफूविरुद्ध प्रहरीले किर्ते अभियोगमा मुद्धा दायर गर्नुलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

सिलवालले किर्ते प्रकरणबारे छानबिनको माग आफूले पहिल्यैदेखि गर्दै आएको भन्दै त्यसलाई आफूविरुद्धको खेलका रुपमा नबुझिदिन आग्रह गरेका छन् । बास्तविक कार्यसम्पादन मूल्यांकन आफूले पेस गरेपछि त्यसलाई गलत सावित गर्ने प्रपञ्चमा राज्यले नै नक्कली कार्यसम्पादन मूल्याङ्कन बनाएर अदालतमा बुझाएको आरोप सिलवालको छ ।

‘सरकारले नै किर्ते गरेर कार्यसम्पादन मूल्याङ्कन अदालतमा बुझाएको हो’, सिलवालले भने, ‘त्यस प्रकरणमा छानबिन हुनुपर्छ भन्ने मेरो माग सम्मानित सर्वोच्च अदालतबाट सम्बोधन भएको छ ।’

अदालतले किर्तेमा आफूलाई दोषी ठहर गरेको जसरी प्रचार भइरहेको भन्दै सिलवालले आपत्ति जनाए । अदालतले दुईथरी कार्यसम्पादन मूल्याङ्कनमध्ये कुन चाहिं फर्जी हो त्यसका लागि छानबिन गर्नु भनेको तर आफूविरुद्ध अनर्गल प्रचार भइरहेको दाबी उनको छ । ‘अदालतले मलाई दोषी भनेको छैन’, उनले भने, ‘खाली कसले किर्ते गरेको हो त्यसको छानबिन गर्नु भनेको छ ।’