राजनीति

केशव स्थापित यसकारण बन्नुपर्छ प्रदेश नम्बर ३ को मुख्यमन्त्री !

काठमाण्डौ । नेकपा एमालेबाट ०५४ सालको स्थानीय निर्वाचनमा महानगरपालिकाको मेयरमा निर्वाचित एवं काठमाण्डौ क्षेत्र नम्बर ३ का निर्वाचित सांसद केशव स्थापित प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका दाबेदार मानिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि उनले आफू मुख्यमन्त्रीको दाबेदार भएको दाबी गरेका हुन् ।

३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नाम आइरहेका बेला स्थापितले आफू मुख्यमन्त्री बन्ने दावी गरेका हुन् ।

बुधवार साँझ पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता स्थापितले भने, ‘पार्टीमा मभन्दा सिनियर नेताहरु पनि यो प्रदेशबाट निर्वाचित हुनुभएको छ । तर केपी ओलीका देश विकासको स्पिरिटसँग मेरा योजनाहरु मिल्छन् । काम गरेर देखाउने चुनौति मोल्छु भनेरै म प्रतिनिधिसभाको उम्मेदवार नबनी प्रदेशमा आएको हुँ । मलाई आशा छ पार्टीले मलाई यो प्रदेश बनाउने जिम्मेवारी दिनेछ । ’

साथै स्थापितले आफूलाई मुख्यमन्त्री बन्न माओवादी अध्यक्ष पुष्पकमल दाहालको पनि सद्भाव रहेको बताए । उनले भने, ‘म र दाहाल कमरेड त मितमित नै हौं । देशको राजधानी रहेको यो प्रदेशलाई कसरी अन्तर्राष्ट्रिय मापदण्डको विकासमा लैजाने भन्ने भिजन लिखित रुपमा मैले शीर्ष नेतृत्वलाई दिँदैछु ।

केपी ओली युवा संघको संस्थापक अध्यक्ष हुँदा महासचिवको हैसियतले देशभरी संगठन सन्जाल फैलाएको भन्दै स्थापितले आफू ओलीको भिजन अनुसार काम गर्ने सच्चा चेलो भएको बताए ।

को हुन् केशव स्थापित ?

स्थापित ०५४ सालमा भएको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट काठमाण्डौको नगरप्रमुख निर्वाचित भएका थिए । ०५६ सालमा एमाले फुट्दा वामदेव गौतम नेतृत्वको नेकपा (माले) मा लागेका उनी गौतमसँगै एमाले फर्केका थिए । राजाको शासन कालमा काठमाण्डौको मेयर मनोनित भएपछि पुनः एमालेबाट बाहिरिएका स्थापित केही समय नेपालको सबैभन्दा पुरानो पार्टी नेपाल प्रजापरिषद्का कार्यबाहक अध्यक्ष पनि बनेका थिए ।

०६३ को आन्दोलनको सफलतापछि काठमाण्डौको बाटो विस्तार गर्न एमाओवादीको भ्रातृसंगठन वाईसीएलसँग मिलेर काम गर्न भनी एमाओवादी बनेका थिए स्थापित । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मीत लगाएको समेत बताएका थिए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाण्डौ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भएका थिए । त्यसपछि पुनः एमालेमै फर्केका स्थापित ०७१ मंसिर ४ को चुनावका लागि काठमाण्डौ ६ बाट पार्टीले टिकट नदिएपछि संघीय समाजवादी पार्टीका उम्मेद्वार बनेका थिए ।

मेयर पदमा निर्वाचित भएका स्थापितले जब काठमाण्डौ महानगरका लागि राम्रो काम गर्दै थिए तब जनयुद्धमा माओवादीको धम्की आयो । माओवादीले मेयर छोड्ने कि संसार छोड्ने भनेपछि उनी बाध्य भएर पदबाट राजीनामा दिएका एक इमान्दार र लगनशिल व्यक्ति हुन् । उनी थोरै समयमा राजधानीवासीको मन जित्न सफल स्थापितले अव्यवस्थित काठमाण्डौ महानगरपालिकामा केही सुधारका कामहरु गरेका थिए ।

उनले स्थानीय तहको निर्वाचनमा एमालेले विद्यासुन्दर शाक्यलाई टिकट नदिएपछि पार्टीमा जे भूमिका हुन्छ त्यो निर्वाह गर्न तयार रहेको बताएका थिए । उनले भनेका थिए, ‘पार्टीले विद्यासुन्दरलाई दियो । पार्टीमा जे भूमिका हुन्छ, त्यो निभाउँछु ।’