राजनीति

राजदूत सुन्दास र बहराइनका अधिराजकुमारबीच छलफल

काठमाण्डौ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र बहराइनका अधिराजकुमार सलमान बिन हमाद अल खालिफाबीच मनामास्थित गुडैविया दरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटका क्रममा अधिराजकुमार खालिफाले राजदूत सुन्दासलाई स्वागत गर्दै आफ्नो कूटनीतिक भूमिकामा सफलताको कामना गरे ।

भेटका क्रममा विद्यमान दुई पक्षीय सम्बन्धलाई थप सुदृढीकरण गर्ने, बहराइन र नेपालबीच भएको आर्थिक तथा वाणिज्य सम्बन्धलाई दुईपक्षीय हितमा अघि बढाउने विषयमा विचार आदानप्रदान भएको दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत सुन्दासले नेपालको पछिल्लो राजनीतिक विकास क्रममाथि प्रकाश पार्दै लगानी, व्यापार, पर्यटन र नेपाली श्रमिकको संरक्षणमा दुई देशबीच सहकार्य गर्नेबारे आफ्नो प्रतिबद्धता रहने बताए ।

भेटका क्रममा श्रम सहचारी जगदीश चन्द्र शिवाकोटी र तृतीय सचिव अमृत लोप्चनको समेत सहभागिता थियो ।