राजनीति

यसकारण प्रदेश नम्बर १ मा भीम आचार्य मुख्यमन्त्री बन्दैछन् !

काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएलगत्तै अहिले प्रदेशसभाको नेतृत्व निर्माणका बारेमा शीर्ष दलहरुमा बहस जारी छ । शीर्ष दलहरु मध्ये पनि नेकपा एमालेले धेरै सिट जितको आधारमा अधिकांश प्रदेशहरुमा नेतृत्वको दाबी गर्दैछ ।

अधिकांश प्रदेशमा वाम गठबन्धनका नेताहरु मुख्यमन्त्री देखि मन्त्रीहरु समेत बन्दैछन् । यसै सिलसिलामा पूर्वी नेपालमा पर्ने एक नम्बर प्रदेशमा पनि नेकपा एमालेकै नेताहरुबीच मुख्यमन्त्री बन्ने होडबाजी चलिरहेको छ ।

एमालेले मुलुकका अधिकांश प्रदेशहरुमा आफ्ना नेताहरुको नेतृत्वमा प्रदेशहरुको मन्त्रीमण्डल बनाउने निश्चित भएपनि आन्तारिक रुपमा भने सन्तुन कायम गर्न हम्मे–हम्मे पर्ने देखिदैछ । त्यस्तै प्रदेश नम्बर एकमा पनि एमालेका दुई प्रभावशाली नेताहरु मुख्यमन्त्रीका दाबेदार देखिएका छन् ।

सुनसरी क्षेत्र नम्बर १ (ख)बाट भारी मतका साथ चुनाव जितेका भीम आचार्य र भोजपुर १(क)बाट चुनाव जितेका शेरधन राई मुख्यमन्त्रीको दाबेदार देखिएका हुन् ।

नेताद्धय आचार्य र राई दुवै एमालेका प्रभावशाली नेताहरुमात्र होइनन् पूर्वमन्त्री समेत हुन् । आचार्य पूर्व पर्यटनमन्त्री हुन् भने राई पूर्व सुचना तथा सञ्चारमन्त्री हुन् ।

उनीहरु दुवैले प्रदेश नम्बर १ मा मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । श्रोतका अनुसार दुवै नेताले मुख्यमन्त्रीको दाबी गरेपनि एमालेका सचिव समेत रहेका भीम आचार्य मुख्यमन्त्री हुने सम्भावना बलियो रहेको बताईन्छ । आचार्य एमालेभित्र मात्र होइन बाहिर पनि प्रभाव राख्न सक्ने नेताका रुपमा परिचित रहेका छन् ।

एमाले प्रदेश नम्बर १ को संयोजक समेत रहेर सुनसरीबाट लगातार चुनाव जित्दै आएका आचार्य नेपालको केन्द्रीय राजनीतिमा राम्रो पहुँच राख्ने नेताका रुपमा परिचित रहेका छन् ।

उनले २०६४ सालको चुनावमा समेत विजय हाँसिल गरेका थिए । मुलुक माओवादीमय भएर एमाले र कांग्रेसलाई समेत धौ–धौ पार्ने अवस्थामा पुगेको २०६४ सालको संविधानसभा निर्वाचनमा समेत चुनाव जित्नु भनेको आचार्यका लागि कम्ति चुनौतीको विषय थिएन, तैपनि उनले चुनाव जितेका थिए ।

त्यस्तै, २०७० सालमा पनि आचार्यले चुनाव जितेका थिए भने भर्खरै सम्पन्न प्रदेशसभा निर्वाचनमा पनि उनले भारी मतका साथ चुनाव जितेका थिए । लगातार जनताको पहुँचमा रहेर केन्द्रीय राजनीतिमा दह्रो पकड राख्न सफल उनलाई एमाले केन्द्रीय नेतृत्वले समेत पत्याउने श्रोतको दाबी रहेको छ ।

उता, भोजपुरबाट चुनाव जितेका शेरधन राईलाई पनि मुख्यमन्त्री बनाउने भन्दै एकथरी प्यानलले एमालेभित्र लबिङ गरिरहेको छ । तर राईमाथि यसअघि केटीकाण्ड लगायतका थुप्रै केशहरु लागेकोले उनलाई पार्टीभित्र त्यति धेरै विश्वास गरिहाल्ने सम्भावना नरहेको धेरैको भनाई छ । त्यसैले पनि राईको भन्दा आचार्यको पहुँच बढी रहेको श्रोतको दाबी रहेको छ ।