अन्तर्राष्ट्रिय

अमेरिकी संसदमा एउटा महत्वपूर्ण विद्येयक पारित

एजेन्सी ।  अमेरिकी कंग्रेसले कर प्रणालीमा व्यापक सुधारको योजनालाई स्वीकृति प्रदान गरेको छ। उक्त घटनालाई राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो महत्त्वपूर्ण विधायिकी सफलता मानिएको छ।

सिनेटरहरुले रातिसम्म चलेको बहसपश्चात् ४८ का विरुद्ध ५२ मतले उक्त विधेयकलाई स्वीकृत गरेका थिए। अब उक्त विधेयकलाई प्रक्रियागत कारणले पुन: तल्लो सदन प्रतिनिधिसभामा पठाई अन्तिम स्वीकृति दिलाउनु पर्ने छ।

अमेरिकी सिनेटले पारित गरेको उक्त विधेयकले अमेरिकी कर प्रणालीमा गत तीन दशक यताकै सबैभन्दा व्यापक फेरबदल ल्याउने ठानिएको छ। तर यसबारे भिन्न-भिन्न मत देखिन्छन्।

राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सदस्यहरु भन्छन्, यसले ठूला व्यापारिक प्रतिष्ठान, साना व्यापार तथा व्यक्तिहरुलाई दिलाउने कर कटौतीले आर्थिक वृद्धिलाई बल पुर्‍याउनेछ। तर उक्त कानूनको विपक्षमा भोट दिएका डेमोक्र्याटहरुले चाहिं यसले केबल अति धनीहरुलाई खुशी तुल्याउने बताएका छन्।

यस्तो कटौतीले अमेरिकाको राष्ट्रिय ऋणको भार बढ्ने उनीहरुले चेतावनी दिएका छन्।