पु.समाचार

शान्ति सेनाको सेक्टर कमाण्डरमा नेपाली सेनाका प्रवक्ता चुनिए

काठमाडौं ।नेपाली सेनाका सहायक रथिले दक्षिण सुडानको सेक्टर कमाण्डको नेतृत्व गर्न पाउने भएका छन् । कूटनीतिक ‘लविङ’ बलियो नहुँदा नेपालबाट उच्च तहमा नेतृत्व गर्ने अवसर न्युन पाएको छ । नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथि नैनराज दाहालले यो अवसर पाएका हुन ।

उपरथिको लाइनमा रहेका उनी अर्को साता त्यसतर्फ जाने तयारीमा छन् । राष्ट्रसंघमा प्रभाव राख्ने सुरक्षा परिषदका स्थायी सदस्य मुलुकहरु नै उच्च पदमा लालयित हुँदा नेपाल जस्ता मुलुक पछाडि पर्ने गरेका छन् ।

सुरक्षा परिषदका स्थायी सदस्यहरु अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स एवं उनीहरुका निकटस्थ (एलाई) मुलुकहरुबाट नै त्यस्तो पदमा जाने गरेको छन् । राष्ट्रसंघ सकारात्मक हुन नसकेको भए पनि सरकार प्रमुख, सेना प्रमुख र उच्च अधिकारीहरुले नेपाललाई सेनाको योगदानको अनुपातमा उच्चतहमा सहभागिता दिनुपर्ने बताउदै आएको छ ।

अहिले औलामा गन्न सक्ने हैसियतमा नेपाली सेनाका अधिकारीले त्यहाँ अवसर पाएका छन् । विश्व शान्तिमा अधिकतम योगदान दिने मुलुकमा छैटौं रहेको नेपालको यतिबेला फोर्स कमाण्डर समेत छैन । १५ दिनपछि सुडानमा रहेको चार सेक्टर मध्ये एक सेक्टरको नेतृत्व गर्न दाहाल जादैछन् । उक्त चार सेक्टरमा नेपाल, बंगलादेश चीनका गरि १७ हजार सेना तथा अन्य सुरक्षा निकाय छन ।

बिहीबारको कान्तिपुरमा लेखिएको छ, यसअघि पनि फोर्स कमाण्डर र डेपुटी कमाण्डरको अवसर नेपाली सेनाले पाएको थियो । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको तीन वर्ष पूग्दै गर्दा १२ जुन १९५८ मा लेबनान स्थित युनोगिल मिसनमा पाँच नेपाली सेनाका अधिकृतहरू पर्यवेक्षकको रुपमा उपस्थित भएका थिए ।

यससँगै विश्व शान्तिमा नेपाली सेनाको प्रवेश भएको थियो । उच्च अधिकारीको तर्फबाट आरम्भ सेवा अहिले उच्च तहमा सहभागिता नहुनु दुखद भन्दै नेपालले सेनाको सहभागिताको अनुपात माग गर्दै आए पनि राष्ट्रसंघ वेखवर झै बसेको छ ।

यसमा कूटनीतिक लविङ तिब्र हुन नसक्दा नेपाल पछि परेको निश्कर्ष यस क्षेत्रका ब्यक्तिहरुको छ । १ लाख १९ हजार नेपाली सेनाले अहिलेसम्म विश्व शान्तिमा काम गरिसकेका छन् । हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा सहभागी भइसकेको नेपाली सेना अहिले पनि १४ शान्ति मिसनमा कार्यरत छ ।