पु.समाचार

तराईको प्रदेश राजधानी कहाँ–कहाँ ? यस्ता छन् सम्भावित सहर

काठमाडौं । अस्थायी प्रादेशिक राजधानी घोषणामा भएको ढिलाईले जिल्ला जिल्लामा राजधानी ल्याउने रस्साकस्सी सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा आइसक्दा पनि सरकारको तर्फबाट अस्थायी प्रादेशिक राजधानी नतोकिँदा जिल्लास्तरमा तनाव सुरु भएको छ ।

चुनावी माहोल सकिएपछि अहिले प्रादेशिक राजधानीको बहानामा नागरिक विभाजित हुन थालेका छन् । एउटै जिल्लाका फरक फरक सहरमा राजधानी तान्ने होडबाजीले चक्का जाम र बन्द हड्ताल जस्ता अप्रिय गतिविधि पनि सुरु भएका छन् ।

बिहीबारको अन्नपूर्णमा लेखिएको छ, आफ्नै सहरलाई राजधानी बनाउने मोहले राजधानीको लागि ‘लबिङ’ र दबाब दिने काम पनि तीब्र भइरहेको छ । राजधानीका नाममा दबाबमुलुक आन्दोलनदेखि बन्द हडतालसम्म हुँदा नागरिकले सास्ती पाउन थालेका छन् ।

चारवटा प्रदेशमा राजधानीका लागि बखेडा

विशेष गरी प्रदेश नम्बर १, २, ३, ५ र ७ मा प्रादेशिक राजधानीका लागि बखेडा सुरु भएको छ । प्रदेश नम्बर ४ र ६ मा भने खासै विवाद देखिएको छैन । प्रदेश नम्बर ४ को पोखरा र प्रदेश ६ को सुर्खेतलाई प्रादेशिक राजधानी बनाउन ती प्रदेश करिब सहमति नजिक छन् । प्रदेश ६ का लागि जुम्लाको चर्चा चलेपनि सुर्खेतका पक्षमा जनमत करिब जुटेको अवस्था छ ।

प्रदेश १ मा चार सहरको तानातान

प्रदेश १ को प्रादेशिक राजधानीका लागि धनकुटा, सुनसरीका धरान र इटहरी तथा मोरङको विराटनगरबीच तानातान सुरु भएको छ । यी सबै सहरबासी अहिले दबाबमुलुक कार्यक्रमसहित सडकमा छन् । राजधानीका लागि फूलको गुच्छा दिएर स्वागत गर्नेदेखि काठमाडौंमा जुलुस निकाल्नसम्म भ्याएका छन् यी सहरबासीले ।