पु.समाचार

बागलुङमा दुई मोटरसाइकल र पिकअप भ्यान ठोक्कियो, एकको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका– २ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गम्भीर घाइते ढोरपाटन नगरपालिका– १ का ३६ वर्षका खगेन्द्र बीसीको उचारका लागि हेलिकप्टरबाट काठमाण्डौ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।

अर्का घाइते सोही ठाउँका २७ वर्षका सुरेन्द्र बोहोराको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । काठमाण्डौ ल्याउने क्रममा बीसीको उडिरहेको अवस्थामै मृत्यु भएपछि हेलिकप्टर पोखरा अवतरण गरिएको हो ।

बडिगाड गाउँपालिका– २ काँडेरूख नजिकै पिकअप भ्यान र दुई मोटरसाइकल एकै ठाउँमा ठोक्किएर भएको दुर्घटना भएको हो। मध्यपहाडी लोकमार्गमा खर्वाङबाट ग्वालीचौरतर्फ जाँदै गरेको ना४च ३६६७ नम्बरको पिकअप भ्यानसँग विपरीत दिशामा जाँदै गरेका ध१प ३२४६ र बा५५प ८०५० नम्बरका मोटरसाइकल ठोक्किएका हुन् ।

बुर्तिवाङबाट बुटवल जाँदै गरेका दुई मोटरसाइकल अगाडि गुडिरहेको यात्रुवाहक बसलाई ओभरटेक गर्ने क्रममा पिकअपसँग ठोक्किएका स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको बागलुङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।