राजनीति

एमाले–माओवादी पार्टी एकता छिट्टै !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठन र माओवादीसँगको एकीकरण सँगै हुने बताएका छन् ।

वाम गठबन्धनबाट राजधानीमा निर्वाचित भएकाहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निकट भविष्यमै पार्टी एकता हुने बताए ।

‘हामी सरकार गठन र पार्टी एकीकरण सँगै गर्दै जान्छौं,’ ओलीले भने, ‘कतिपय अहिले पनि हामीलाई भाँड्न खोजेका छन् । तर हामी जसरी पनि एकता गरेरै छोड्नेछौं ।’

उनले धेरैले अहिले एकीकरण भए एमालेले माओवादीलाई निल्ने र माओवादीसँग एक भए एमालेको विश्वासनियता घट्ने भन्दै उक्साउन खोजेको बताए ।

‘मैले उनीहरुलाई भन्ने गरेको छु, एकीकरण भयो भने एमालेले माओवादीलाई निल्छ, माओवादीले एमालेलाई निल्छ, त्यसपछि न एमाले रहन्छ न माओवादी रहन्छ’, ओलीले भने, ‘एमाले र माओवादी पूर्व पार्टी हुन्छन् । अनि नयाँ पार्टी बन्छ ।’

चुनाव अघि एमाले–माओवादीका नेताले चुनावी परिणाम लगत्तै पार्टी एकता गर्ने भने पनि अहिले सरकार निर्माणसँगै गर्ने बताइरहेका छन् । एमालेका नेताले माओवादीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष नदिने बताएपछि माओवादी सतर्क बन्दै आएको छ ।