राजनीति

हामी जीतले उन्मत्त हुन्नौँ, प्रतिपक्षका साथीहरु नआत्तिनुहोलाः नेता नेपाल

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षलाई नआत्तिन आग्रह गरेका छन् । उनले वाम गठबन्धन चुनावमा जिते पनि आफूहरु उनत्त नहुने भन्दै यस्तो आग्रह गरेका हुन् ।

प्रदेश र प्रतिनिधिसभामा विजयीहरुलाई धन्यवाद ज्ञापन गर्न राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हामी जीतले उन्मत्त हुन्नौँ, प्रतिपक्षका साथीहरु नआत्तिनुहोला ।’

उनले वाम गठबन्धन चुनावी तालमेलमा मात्र सीमित नरहने बताउँदै एउटै कम्युनिष्ट पार्टी गठन गरिछाड्ने वाचा पनि गरे । ‘हामी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्नेछौँ । जनताको चाहना र समयको माग पनि त्यही हो,’ उनले भने ।

निर्वाचन परिणाममा आफू पराजित भइसकेपछि प्रधानमन्त्री राजीनामा गरेर मार्गप्रशस्त नगरेकोमा नेता नेपालले आश्चर्य प्रकट गरे ।

‘यत्रो निर्वाचन परिणाम देखेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने हो । लोकतन्त्र भन्ने तर लोकतान्त्रिक संस्कार र आचरण नदेखाउने चरित्र कांग्रेसमा देखिएको छ,’ उनले भने, ‘एकदिनमात्र भए पनि कुर्सीमा टाँसिन पाए हुन्थ्यो भन्ने लाग्छ भने ख्याल गर्नुस् जनताले हिसाबकिताब गर्नेछन् ।’