पु.समाचार

नौ घण्टापछि निभ्यो सुपर ग्यास उद्योगमा लागेको आगो

वीरगन्ज । वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगो करिब नौ घण्टापछि निभेको छ । प्रारम्भिक अनुमानअनुसार बुलेटबाट ग्यास लिक भएर बुधबार बिहान ६ बजेदेखि आगो दिउँसो करिब ३ बजे मात्रै आफै निभेको प्रहरीले जनाएको छ । ग्यास उद्योगमा लागेको आगो निभाउने प्रविधि नभएपछि लामो समयमा आफैं निभ्न पुगेको प्रहरी भनाइ छ ।

भीषण आगलागी नियन्त्रणमा आएपछि अहिले स्थानीय, प्रहरी र उद्योग सञ्चालकहरु उद्योग भित्र प्रवेश गरेर नियाँलिरहेका छन् ।

तर, आगो निभाउन दमकल भने प्रयोग गरिएको थियो । आगो निभाउने क्रममा दुई जनाको ज्यान गएको छ भने चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते भए । उनीहरुलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । मृतक दुवैको खनाखत भइसकेको छैन ।

पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।