राजनीति

यस्ता छन् एमालेबाट मन्त्रीका आकांक्षी

काठमाण्डौ । बाम गठबनधनको बहुमत आएसँगै सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेमा मन्त्रीका आकांक्षी धेरै देखिएपछि व्यवस्थापन गर्न नेतृत्वलाई हम्मेहम्मे पर्ने भएको छ ।

बाम गठबन्धनभित्र भावी सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्ने सहमति करिब भइसकेको छ । एमालेमा मन्त्रीका लागि पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा नै चलेको छ । सबैले आ–आफ्नो गुटमा लविङ तीव्र पारेका छन् । कतिपय सांसद निर्वाचिन जितेपछि मतदातालाई धन्यवादसमेत नदिई हतारहतार मन्त्रीका लागि लविङ गर्न काठमाण्डौ आइसकेका छन् ।

अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएपछि दुईमध्ये एक उपप्रधानमन्त्री एमाले र एक माओवादीको भागमा पर्ने देखिन्छ । महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्रीमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलले आँखा लगाएका छन् । रावल पटकपटक मन्त्री बने पनि पोखरेल ०६४ र ०७० को दुवै संविधानसभा निर्वाचनमा लगातार पराजित भएका कारण मन्त्री बन्ने अवसरबाट चुके ।

दुवै नेता ओलीलाई अप्ठेरोमा साथ दिनेमा पर्छन् । पोखरेलकै सहयोगमा ओली एमालेको अध्यक्ष बन्न सफल भएका हुन् । माधव नेपाल समूहबाट उपाध्यक्षमा निर्वाचित रावल नाकाबन्दीका बेला ओली सरकारमा रक्षामन्त्री थिए । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहित अधिकांश नेता ओलीको विरोधमा देखिँदा रावल बलियोसँग ओलीका पक्षमा उभिए । त्यतिखेरको गुन तिर्न पनि ओलीमाथि रावललाई मन्त्री बनाउनुपर्ने दबाब छ । दुईमध्ये एक उपप्रधानमन्त्री बन्ने भने पक्का छ । तर, दुवै नेताबीच सन्तुलन मिलाउन कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने र समान ‘पोटफोलियो’ मा सरकारमा सहभागी गराउन पनि ओलीलाई निकटस्थहरुको सुझाव छ ।

मन्त्रीका लागि एमालेमा उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालबीच पनि प्रतिस्पर्धा छ । पौडेल यसअघि पटकपटक मन्त्री भइसकेका छन् । भुसाल अघिल्लो निर्वाचनमा पराजित भएकाले मन्त्री बन्ने ढोका उनका लागि बन्द भयो । नवलपरासीबाट निर्वाचित भुसाल र रुपन्देहीबाट निर्वाचित सांसद पौडेलबीच मन्त्रीमा प्रतिस्पर्धा छ । एउटै भेगबाट जितेका कारण एकजना मन्त्री बन्दा अर्को पाखा लाग्ने करिब निश्चितजस्तै छ । गत महाधिवेशनमा पौडेल ओली र भुसाल माधव नेपाल समूहबाट उपमहासचिव निर्वाचित भएका हुन् । यस्तै अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको दाबी छ । पाण्डेसँग झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थमन्त्रालय चलाइकेको अनुभव छ । उनी सफल अर्थमन्त्रीका रुपमा चिनिन्छिन् ।

यस्तै दुईपटकसम्म लगातार काठमाण्डौबाट पराजित भएर गृहजिल्ला तेश्रो प्रयासमा गृहजिल्ला तेह्रथुमबाट निर्वाचित सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई मन्त्रीका प्रबल दाबेदार हुन् । पूर्वाञ्चलबाट उनको नाम मन्त्री हुनेमा पहिलो नम्बरमा छ । अध्यक्ष ओलीका प्रिय पात्र शेरधन राई प्रदेश–१ को मुख्यमन्त्री बन्ने भएपछि योगेशका लागि बाटो खुला भएको हो । युवा नेता रवीन्द्र अधिकारी पनि यसपटक मन्त्री बन्ने सम्भावना बढी भएका नेता हुन् । संसदको विकास समिति सभापति हुँदा लोकप्रिय काम गरेका कारण पार्टीभित्र र बाहिरसमेत उनको छवि राम्रो छ । पहाडबाट झरेर विराटनगरबाट चुनाव जितेका भानुभक्त ढकालको पनि मन्त्रीमा दाबी छ । टुरिष्ट उम्मेदवारको आरोप लागे पनि उनले शानदार जित नकाले । काँग्रेस नेता शेखर कोइरालालाई मोरङबाट हराउन सफल लालबाबु पण्डित पनि मन्त्रीका बलियो दाबेदार हुन् ।

गुल्मीबाट निर्वाचित प्रदीप ज्ञवाली र गोकर्ण विष्ट दुवैको मन्त्रीमा दाबी छ । एकै जिल्लाबाट दुई नेताको दाबी हुँदा दुईमध्ये एकजनाको मात्र सम्भावना छ । यस्तै चितवनबाट कृष्णभक्त पोखरेल मन्त्रीका दाबेदार छन् । यसअघि पनि सांसद रहेका पोखरेल कानुनमा राम्रो दख्खल राख्छन् । काठमाण्डुबाट कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर र जीवनराम श्रेष्ठको दाबी छ । काठमाण्डौमा राम्रो नतिजा ल्याएको हुनाले मन्त्री पाउनुपर्ने दाबी दुवैको छ । पूर्वडिआईजी नवराज सिलवाललाई ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउँदै केपी ओलीको गृहमन्त्री घोषणा गरेका थिए । काँग्रेसका प्रभावशाली युवा नेता उदयशमशेर राणालाई पराजित गरेका थिए ।

दलितबाट पोलिट्ब्युरो सदस्य छविलाल विश्वकर्माको मन्त्री बन्ने सम्भावना बढी छ । महिलातर्फ देउवा सरकारका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई स्याङजाबाट पराजित गरेकी पदमा अर्याल र केपी ओलीको गृहजिल्ला झापाबाट निर्वाचित पवित्रा निरौलाको चर्चा छ । दुईमध्ये एक मन्त्री बन्ने करिब निश्चितजस्तै छ । यद्यपि निरौलाको भन्दा अर्यालको पल्ला भारी रहेको एमाले स्रोतले बतायो ।

मधेसबाट रघुवीर महासेठ मन्त्री बन्ने करिब पक्काजस्तै छ । यस्तै जनजातिबाट ओलढुंगाका यज्ञराज सुनुवार, दोलखाका पर्वत गुरुङ, हेबिवेट भनेर प्रचारिक राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गरेका सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, पाल्पाका दलबहादुर राना र डोटीका प्रेम आले मन्त्रीका लागि तीव्र लविङमा छन् । सात नम्बर प्रदेशबाट भीम रावल मन्त्री नभए आलेको करिब पक्काजस्तै छ ।