पु.समाचार

यसरी नापिदैछ सगरमाथाको उचाई

काठमाण्डौ ।, नापी बिभागले विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाई मापन गर्ने भएको छ । बिभागले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार गत साता काठमाण्डौमा भएको सगरमाथाको उचाईसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा प्राप्त सुझाव र तथ्यांकलाई आधार मानेर सगरमाथाको उचाई आफैंले मापन गर्ने निर्णय गरेको हो ।

सगरमाथाको उचाई मापन गर्न तयार पारेको कार्यबिधीलाई अन्तिम रुप दिएर अन्तर्राष्ट्रिय बिज्ञहरुले सहयोगसमेत लिई सगरमाथाको उचाई मापन गरिने भएको छ ।

यसका लागि भारतीय सीमाक्षेत्रको कुनै निश्चित स्थानलाई आधार विन्दू बनाएर उचाई प्रमाणीकरण गरिनेछ । त्यसका लागि भारत सरकारलाई नेपालको सीमासम्म उचाई मापनका लागि अनुरोध गरिनेछ ।

त्यस्तै पहिलो पटक नेपाल नै गर्न लागेको उचाई मापन अझै विश्वसनीय बनाउन उत्तरतर्फसमेत जीपीएस र ग्राभिटी सर्भेक्षणका लागि चीन सरकारसँग अनुरोध गर्ने पनि नापी बिभागले जनाएको छ ।

भारतीय सीमाबाट नेपालतर्फको मापन कार्यबिधि पनि तयार भइसकेको छ । जसअनुसार सिरहाको मिर्चैयासम्म नजिकको भारतीय सीमाबाट उचाई मापन गर्दै ल्याउने र त्यहाँबाट सोलुखुम्बुको ताक्सिन्दू, पिके, सोलुङ र छुल्यामूसम्म मापन गरिनेछ । त्यसपछि ‘ट्रिगोनोमेट्रिकल लेभलिङ’ बाट सगरमाथाको उचाई मापन गर्ने योजना बिभागको छ ।

उचाई मापनका लागि छानिएका १२ बिन्दूहरुमा जीपीएस सर्भे गरिनेछ भने लेभलिङ गरिएका विन्दूहरु तथा सगरमाथा नजिकका क्षेत्रहरुमा ग्राभिटी सर्भे गरी त्यस क्षेत्रको ‘जेवेइड’ निर्धारण गरेपछि सगरमाथामा जीपीएस सर्भेक्षण गरेर उचाई निर्धारण हुनेछ ।

यो सबै काम सम्पन्न गर्नका लागि बढीमा २ वर्षसम्मको समय लाग्नसक्ने अनुमान नापी बिभागको छ ।

सगरमाथा सन् १९४७ मा विश्वकै सर्वोच्च शिखर रहेको पत्ता लागेको थियो । सर्भे अफ इण्डियाले गरेको त्यस मापनमा सगरमाथाको उचाई ८७७८ मिटर मापन गरिएको थियो । त्यसपछि पनि पाँचवटा छुट्टाछुट्टै सर्भेक्षण भइसकेको छ भने फरक फरक मापन भएको छ ।

फरक फरक संस्था तथा मुलुकको सर्भेक्षणको नतिजा पनि एउटै नभएपछि नेपाल आफैंले सगरमाथाको उचाई मापनका लागि सक्रियता बढाएको छ ।