राजनीति

माओवादीसँग मिल्नाले एमालेको नतिजा सुध्रियो, यस्तो छ उपत्यकामा एमालेको अवस्था

काठमाण्डौ । ०६४ सालको पहिलो संविधानसभको निर्वाचनअघि तत्कालीन नेकपा माओवादीले एमालेसँग ६०–४० गरेर काठमाण्डौ उपत्यकामा सिट बाँड्ने प्रस्ताव राख्दा एमाले नेतृत्वले तीतो जवाफ फर्काएको थियो । त्यतिबेला एमालेका नेताहरुले भनेका थिए । उपत्यकामा १६ औं सिटमा मात्रै माओवादीसँग तालमेल हुन सक्छ । जबकि उपत्यकाभित्र १५ सिटमात्रै थिए ।

पहिलो संविधानसभा निर्वाचन परिणामले एमालेलाई १६ औं सिट दियो र उपत्यकामा क्लिन स्वीप भयो । त्यसपछि एमालेलाई काठमाण्डौ र ललितपुरमा निकै चुनौति भयो । भक्तपुरमा एमाले तेस्रो शक्ति ह’न सकेन । एमालेको दम्भले त्यतिबेला काठमाण्डौ र ललितपुरको पकड गुमेको थियो ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि एमालेले देशभर राम्रो नतिजा ल्याइरहँदा उपत्यकामा ‘कमब्याक’ गर्न सकेन । काठमाण्डौमा १० मध्ये तीन सिट जिते पनि उपचुनावमा काठमाण्डौ २ फेरि गुमाएर कमजोर शक्ति बन्यो । २०१५ सालदेखि लगातार कम्युनिस्टले जितेको ललितपुरका तीनै सिट काँग्रेसले जित्यो ।

काठमाण्डौ, ललितपुर र भक्तपुरमा एमालेका प्रतिनिधिसभा र प्रदेश सभाका ३५ उम्मेदवारमध्ये ३२ जनाले बिजय प्राप्त गरेका छन् । ०५१ सालपछि एमालेले उपत्यकामा सबैभन्दा राम्रो नतिजा पाएको हो ।

०४८ देखि लगातार एमालेले जित्दै आएका काठमाण्डौ र ललितपुर गुमाउँदा एमालेको राष्ट्रिय आकारमा समेत असर परेको थियो ।

पार्टीले दुई चुनाव हार्दा पनि काठमाण्डौमा एमालेको चरम गुटबन्दी भने अझ बढिरहेका बेला स्थानीय चुनावमा होमियो । ८ वर्षदेखि अधिवेशन नभएको काठमाण्डौमा एमालेको नतिजा निकै खराब आउने आँकलन विपरित स्थानीय तहको चुनावमा एमालेले राम्रो प्रदर्शन गर्यो ।

काठमाण्डौ महानगरपालिकासहित जिल्लाका ११ मध्ये ६ वटा नगरपालिका जितेर एमाले राजधानीमा पुनः व्युँतियो । ललितपुर महानगरपालिकामा झिनो मतान्तरले पराजित भए पनि ललितपुरमा समेत एमालेले कमब्याकको संकेत स्थानीय तह चुनावमै गरेको थियो ।

भक्तपुरमा त एमालेले स्थानीय तह चुनावमा चमत्कार नै गरेको थियो । जिल्लामा तेस्रो वा चौथो शक्तिका रुपमा रहेको एमालेले एकाएक भक्तपुरका चारमध्ये तीन नगरपालिका जितेर पहिलो शक्तिका रुपमा उभ्याइसकेको थियो । समग्रमा स्थानीय चुनावले राजधानीमा एमालेलाई पुनर्जीवन दिएको थियो ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावले एमालेलाई ०४८ र ०५१ को अवस्थामा फर्काइदियो । उपत्यकाभित्र प्रतिनिधिसभाका १५ सिटमध्ये एमालेले ९ सिट जितेर पहिलो शक्ति बन्न सफल भयो भने प्रदेशसभाका ३० मध्ये २३ सिट जितेर दुई तिहाई शक्ति आर्जन गरेको छ ।

उपत्यकामा प्रतिनिधिसभामा उठेका एमालेका उम्मेदवारमध्ये एकजना राजन भट्टराईमात्र पराजित भए काठमाण्डौ ४ मा । वामपन्थी गठबन्धनमा एमालेले माओवादीलाई उपत्यकाका १५ मध्ये ५ सिट छाडेकोमा ललितपुर ३ मा पम्फा भुसाल बाहेक कसैले पनि जित्न सकेनन् ।

काठमाण्डौका १० मध्ये ६ सिट प्रतिनिधिसभा र २० मध्ये १६ सिट प्रदेशसभामा जितेको एमालेले ललितपुरमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार सिट जितेर ठूलो दल बन्यो । त्यस्तै भक्तपुरमा प्रतिनिधिसभामा दुईमध्ये एक सिट र प्रदेशसभामा चारमध्ये ३ सिट जितेर जिल्लाको ठूलो दल बन्यो ।

राजधानी उपत्यकामा एमालेको कमब्याक भएको पुष्टि समानुपातिक मतपरिणामले पनि पुष्टि गरेको छ । समानुपातिकतर्फ एमालेले काठमाण्डौ, ललितपुर र भक्तपुर तीनै जिल्लामा पहिलो मत पाएको छ । काठमाण्डौ ५ बाट चुनाव जितेका एमाले महासचिव पोखरेलले २० वर्षपछि एमाले राजधानीमा पुनः ‘फर्म’मा आएको बताए ।

काठमाण्डौ ४ मा प्रत्यक्षतर्फ कांग्रेसका गगन थापाले जित्दा समानुपातिकमा एमालेको पहिलो मत आएको छ । त्यहाँ प्रदेशसभामा एमालेका कुसुम कार्कीले पाएकोजति मत प्रतिनिधिसभामा राजन भट्टराईले पाउन सकेनन् । यसको कारण खोजी भइरहेको जिल्ला अध्यक्ष कृष्ण राईले बताए ।

त्यस्तै काठमाण्डौमा माओवादीले पाएका सिटमा पराजय व्यहोर्नुपर्दा कांग्रेसले उपस्थिति कायम राख्न सकेको एमालेको ठहर छ । यदि काठमाण्डौ ६ र १० मा एमालेका उम्मेदवार थिए भने कांग्रेसले जित्न नसक्ने दाबी एमाले नेताहरुको छ । उपत्यकामा जनमत एमालेको पक्षमा कमब्याक भए पनि अब पार्टीको आन्तरिक संगठन व्यवस्थित गर्नुपर्ने बेला आएको प्रदेशसभामा सदस्य बसन्त मानन्धरले बताए ।

काठमाण्डौमा एमालेले उठाएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारमध्ये तीन जनामात्रै पराजित भएका छन् ।