अन्तर्राष्ट्रिय

कर प्रणालीबारे अमेरिकी सिनेटमा बहस हुँदै

एजेन्सी । अमेरिकाको रिपब्लिकन नियन्त्रित संसदले अमेरिकामा तीन दशकभन्दा लामो समयपछि त्यहाँको कर प्रणालीमा फेरबदल गर्ने ठानिएको छ । कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने भनिएको उक्त विधेयक त्यहाँको तल्लो सदनले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो महत्वपूर्ण विधायकी उपलब्धी हासिल गर्न लागेको रुपमा हेरिएको छ ।

रिपब्लिकनहरुले कर प्रणालीमा हुने परिवर्तनले मध्यम वर्गीयलाई मद्दत गर्ने बताएका छन् । तर डेमोक्र्याट्हरुले भने यो धनीहरु लक्षित रहेको टिप्पणी गरेका छन् ।

मंगलबारको तल्लो सदनमा भएको मतदानमा २२७ जनाले नयाँ कर प्रणालीको पक्षमा मतदान गरेका थिए । १२ रिपब्लिकनहरु र सबै डेमोक्र्याट सदस्यहरुले भने त्यसको विपक्षमा बोलेका थिए । राष्ट्रपति ट्रम्पले यो विधेयकलाई देशका लागि क्रिसमसको उपहार भनी व्याख्या गरेका छन् ।

डेमोक्र्याट सांसद बारबरा लिले नयाँ कर कटौतीले तल्लो र मध्यम वर्गीय परिवारका लागि मर्का पर्ने भन्दै विधेयकको आलोचना गरेकी छन् । यो विधेयकले ठूलठूला व्यापारिक कम्पनीहरुले तिर्दै आएको करको दर ३५बाट २१ प्रतिशतसम्म स्थायी रुपमा कटौती गर्छ । माथिल्लो सदन सिनेटमा अबको केही घण्टामा त्यसबारे मतदान हुने ठानिएको छ । मत सर्वेक्षणहरुले अमेरिकी मतदाता माझ यो विधेयक अलोकप्रिय रहेको देखाएको छ । बीबीसी