पु.समाचार

बिरामीको मृत्यु भएपछि रेसुङ्गा अस्पताल तनावग्रस्त

गुल्मी । दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यु भएपछि रेसुङ्गा अस्पतालमा तनाव उत्पन्न भएको छ ।

मालिका गाउँपालिका ६ अर्जेका ५७ वर्षीय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो ।

सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका अर्याललाई डाक्टरले गिँजाको पिप निकालेपछि ठीक हुन्छ भनेर अप्रेसन गरेको तर, अप्रेसनपछि उनको होस नफर्केको मृतकका आफन्त बुद्धि गौतमले बताए ।

दाँत दुखेपछि मंगलबार दिउँसो २ बजे बिरामी अस्पताल पुगेका थिए । डाक्टरको लापरबाहीले सामान्य अवस्थाका मान्छेको ज्यान गएको आफन्तको आरोप छ ।

परिवारले मृतकको शव उठाएका छैनन् । अप्रत्यासित बिरामीको मृत्यु भएपनि आफूहरुको त्यसका कुनै नियत नभएको डक्टरहरुको भनाइ छ ।

डाक्टर प्रकाश पुन, यम भुजेल र बिक्रम बस्नेतले अप्रेसन गरेका थिए । अस्पतालमा बनाव बढ्दै गएपछि प्रहरीले रेसुङ्गा अस्पतालका तीन जना डाक्टरहरुलाई नै स्कटिङ्ग गरेर प्रहरी कार्यालय लगेको छ ।

मृतकका आफन्तले अस्पतालबाट डाक्टरलाई हत्कडी लगाएर लैजानुपर्ने माग गरेपछि केहिवेर नाराबाजी र तनाव समेत भएको थियो ।

अहिले पीडितका आपन्त, अस्पताल, प्रसासन र सरोकारवालावीच छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।