खेलकुद

हेरिटेज ट्रेल रेस-२०१८ माघ १ गते

जुम्ला । आगामी माघ १ गतेदेखि जुम्लामा राष्ट्रियस्तरको १२ किलोमिटरको ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस— २०१८’ सञ्चालन हुने भएको छ ।

कर्णाली स्पोर्ट्स् क्लब, जुम्लाको आयोजना तथा जेआर कर्णाली बोर्डिङको प्रायोजनमा ट्रेल रेस—२०१८ सञ्चालन हुने कुरा बुधबारभएको पत्रकार भेटघाट कार्यक्रम सार्वजनिक गरिएको हो ।

जुम्लाका खेलाडीले अल्ट्रा म्याराथुनलगायत विभिन्न एथ्लेटिक्स खेलमा भाग लिएर राष्ट्रिय ख्याति बनाइसकेको र त्यस्ता खालका खेल जुम्लामा पनि सम्भव छ भनेर देखाउन यसपटक जुम्लामा ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस—२०१८’ आयोजना गरिएको स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

त्यसका साथै अध्यक्ष शाहीले यो खेलका माध्यमबाट कर्णालीको कला, संस्कृतिको संरक्षण र खेल क्षेत्रको प्रवद्र्धन ट्रेल रेस आयोजनाको प्रमुख उद्देश्य रहेको बताए । महिला तथा पुरुष दुवै खेलाडीले भाग लिन सक्ने भन्दै उनले यो खेलका लागि रु एक लाख २५ हजार खर्च हुने र सबै क्षेत्रबाट करिब ६० जना खेलाडी सहभागिता हुने अनुमान रहेको औँल्याए ।

उनका अनुसार ट्रेल रेसको रुट चन्दननाथ नगरपालिका क्षेत्रभित्रका मठमन्दिर, डाँडा, वन, पाखापखेरा, खोचलगायतका स्थान हुनेछन् ।

“ट्रेल रेसको शुरुवात चन्दननाथ मन्दिर हुँदै बोहोरा गाउँमा रहेको गणेश मन्दिर, दानसाँघु, सिंगाचौरमाथिको बौद्ध स्तुपा हुँदै विजयनगर भएर पुनः चन्दननाथ मन्दिरमा गएर टुंगिने छ,” उनले भने ।

जेआर कर्णाली बोर्डिङ जुम्लाका प्रिन्सिपल जीवन गुरागाईले विद्यालय व्यक्तिगत पूँजीबाट सञ्चालित भएपनि यसले आफ्नो विज्ञापनको ८० प्रतिशत खर्च कटाएर खेल जगत्का लागि सामाजिक उत्तरदायित्व बहन गर्न प्रायोजकको भूमिकामा रहेको जनाए । “यस कार्यबाट कर्णालीको विकास र उत्थानमा सहयोग पुग्ने विश्वास राखेको छु,” प्रिन्सिपल गुरागाईले भने ।

त्यसका साथै उनले आफ्नो व्यक्तिगत लगानीबाट सञ्चालित आदित्य इन्फोसिस र इम्पेटस टेक्नोलोजी प्रालिबाट हुने वार्षिक मुनाफाको पाँच प्रतिशत रकम प्रत्येक वर्ष कर्णाली स्पोर्टस् क्लब जुम्लालाई दिने वाचा गरे ।

अन्तरराष्ट्रिय म्याराथुन धावक हरिबहादुर रोकायाले आयोजित खेललगायत सबै खेलको सम्भावित क्षेत्र कर्णाली भएको तर यसको संरक्षण प्रवर्धन र पहिचानका लागि सरोकारवालाले त्यति चासो नदिएको गुनासो गरे ।

धावक रोकायाले भने “रारा अल्ट्रा म्याराथुन दौडपछि हामीले दोस्रो पटक ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस २०१८’ को आयोजना गरेका छौँ, यसले पनि कर्णााली र जुम्ला खेल प्रतिस्पर्धा र मनोरञ्जन दुवैको आकर्षण केन्द्र बन्नेछ ।

यो खेल आयोजना हुनुले प्रदेश नं ६ कै सान, सम्मान, पहिचान हुने र यसले कर्णाली प्रदेशको खेल पर्यटनको प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खेलमा भाग लिएर प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार नगद, ट्रफी र मेडल दिएर सम्मान गरिने आयोजक क्बलले जनाएको छ ।

क्लबका अनुसार बाहिरबाट आउने खेलाडीलाई घरेलु मैदानका खेलाडीले व्यक्तिगत होमस्टेको व्यवस्था गर्नेछन् ।