पु.समाचार

उनले यसरी गरे हजुरआमाको नाममा २५ लाखको अक्षयकोष

money

बेनी, म्याग्दी । बेनी नगरपालिका–४ सिंगा बास्कुनाका एक युवाले हजुरआमाको नाममा धौलागिरि मावि, सिंगामा रु २५ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

हाल न्यूजील्याण्डमा रहेका लालबहादुर केसीले आफ्नी हजुरआमा ९९ वर्षीया गौमती केसीको नाममा रु २५ लाख राशिको अक्षयकोषको स्थापना गरेका हुन् ।

विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका केसीले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई कोषको ब्याजबाट सहयोग गर्ने बताए ।

न्यूजील्याण्डमा सफल नेपाली व्यवसायीका रुपमा चिनिएका केसी त्यहाँ फलफूल व्यवसायमा संलग्न छन् । व्यवसायसँगै सामाजिक र परोपकारी कार्यमा समेत संलग्न रहेका केसीले धौलागिरि माविमै सञ्चालित विषेश कक्षाअन्तर्गत बहिरा विद्यार्थीलाई समेत रु दुई लाख आर्थिक संकलन गरेर पठाएका छन् ।

विद्यालयमा उच्च माविसँगै प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने गरिएकाले पनि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काले बताए ।

२०१८ सालमा स्थापना भएको विद्यालयले माध्यमिक तहसँगै गत वर्ष कक्षा ११ को अनुमतिसमेत पाएको थियो । शिक्षा र व्यवस्थापन संकाय सञ्चालन भइरहेको विद्यालयमा प्राविदेखि माविसम्म २५० जना विद्यार्थी अध्ययनरत छन् ।