राजनीति

पराजित निबर्तमान राजदूत धन्यवाद दिन हिँड्दैछन् गाउँगाउँमा

जितपुर, कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त छन् ।

निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बन्नुभएका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल (बलदेव) सँग ९४६ मतान्तरले पराजित भएका थिए ।

नेताहरु पराजय भएसँगै मतदातासामु फर्किएर नआउने पटिपाटीको अन्त्य गर्दै उनी निर्वाचित उम्मेदवारभन्दा पहिले नै मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्न थालेका हुन् ।

उनले यही सोमबारदेखि आफ्नो क्षेत्रका विभिन्न वडामा गएर मतदातालाई धन्यवाद दिने र उनीहरुका गुनासा सुन्ने गर्न थालेका हुन् ।

उनले सोमबार दक्षिणी क्षेत्र शुद्धोधन गाउँपालिका–६ र पचेहराका साथै मंगलबार उत्तरी क्षेत्र वडा नं ७ र ९ का मतदातालाई भेटेर धन्यवाद ज्ञापन गर्नुका साथै वडाका समस्याका बारेमा पनि जानकारी लिएका थिए ।

मंगलबार वडा–९ को बक्सीरपुरमा मतदातालाई सम्बोधन गर्दै उपाध्यायले यस क्षेत्रको विकास निर्माणमा जितेका उम्मेदवारले भन्दा कुनै कमी हुन नदिई संगठित भएर आफू विकासमा लाग्ने प्रतिबद्धता जाहेर गरे ।

उनले यस क्षेत्रका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै जितेका उम्मेदवारलाई कटाक्ष गर्दै भने “आफ्नो घरमा कहाँ स्वीच छ, ठ्याक्कै थिचेपछि बल्छ भन्ने थाहा छ ।” नयाँलाई स्वीच खोज्दै ठिक्क हुने, तर आफूलाई भने स्वीच खोज्नु नपर्ने उनले बताए ।