पु.समाचार

इनरुवालाई प्रदेश—१ को राजधानी बनाउन माग

इनरुवा । चौतर्फीरुपमा प्रदेशको राजधानीका लागि आन्दोलन भइरहेको बेला सुनसरी सदरमुकाम इनरुवालाई पनि प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका बुद्धिजीवी तथा सञ्चारकर्मीले गरेका छन् ।

इनरुवा प्रदेश नं १ का १४ जिल्लालाई पायक पर्ने, पर्यटकीय क्षेत्रको नजिक, भौतिक पूर्वाधार, सरकारी र ऐलानी जग्गा प्रशस्त भएको ठाउँ भएका कारण इनरुवालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका वुद्धिजीवीले गरेका हुन् ।

इनरुवामा तत्काल प्रदेश सरकारको मुख्यमन्त्री र प्रादेशिक मन्त्रालय राख्न सक्ने क्षमताका भवन र स्थान भएकाले राजधानी बनाउन उपयुक्त रहेको वुद्धिजीवी तथा समाजसेवी शिक्षक देवकृष्ण यादवको भनाइ छ ।

यस क्षेत्रमा प्रदेशको राजधानी बनाउनका लागि भौतिक पूर्वाधारसँगै एयरपोर्टदेखि नजिक, यातायातको पहुँच भएको, चौविसै घण्टा विद्युत् रहने, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चारलगायतको पहुँच रहेकाले राजधानीको लागि उत्तम स्थान रहेको यादवले बताए ।

यस क्षेत्रमा राजधानी भए विकासमा पछाडि रहेका गाउँपालिकासमेत विकासको मूलधारमा आउने भएकाले इनरुवा राजधानीका लागि उपयुक्त ठाउँ भएको उद्योग वाणिज्य संघका इनरुवा सचिव गिरिराज अटलले बताए ।

इनरुवा शान्त र सहरीकरण उन्मुख रहेको, आपत्विपद र भूकम्पजस्ता प्राकृतिक प्रकोप आएको खण्डमा व्यवस्थापन र जोगिने स्थान तथा खुल्ला चौर भएकाले अरु ठाउँको तुलनामा इनरुवा राजधानीका लागि उत्तम ठाउँ भएको पत्रकार अमर काफ्लेको भनाइ छ ।

राजधानीको विषयमा पूर्वका धेरै जिल्लामा चर्चा चलिरहँदा सुनसरीका राजनीतिक दलहरु मौन रहेकाले सही समयमा सही सूचना दिनका लागि इनरुवा नै प्रदेशको राजधानी हुनुपर्ने समाजसेवी धीरज भट्टराईको भनाइ छ ।