शिक्षा

आइजिपी शिल्डको उपाधि नेपाल प्रहरी स्कुललाई

धुलिखेल । विद्यालयस्तरीय २५औँ आइजिपी शिल्ड प्रतियोगितामा काभ्रेको साँगास्थित नेपाल प्रहरी माध्यमिक विद्यालय प्रथम भएको छ ।

मंगलबार भएको फाइनल खेलमा आयोजक नेपाल प्रहरी माध्यमिक विद्यालयले सैनिक आवासिय विद्यालय, भक्तपुरलाई अन्तिम मिनेटमा गोल हान्दै उपाधि हात पार्न सफल भएको हो । आइजिपी शिल्डको रजत वर्षको रुपमा प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिता निर्धारित ९० मिनेटमा दुवै विद्यालयबाट गोल हुन नसकेपछि खेल २० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । २० मिनेट थपिएको खेलको १९ औँ मिनेटमा प्रहरी स्कुलका पुजन पुरीले सैनिक आवासिय माविको रजत वर्ष खेलको उपाधि जित्ने सपनालाई चकनाचुर पारेको थियो । खेलका म्यान अफ दि म्याच पुरीले उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् ।

प्रतियोगितामा सैनिक आवासिय मावि, भक्तपुर दोस्रो र मल्पी इन्टरनेशनल स्कुल, पनौती तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजार, ट्रफी र मेडल, दोस्रो हुने सैनिक आवासिय माविले नगद रु २० हजारसहित ट्रफी र मेडल तथा तेस्रो भएको मल्पी इन्टरनेशनल स्कुलले नगद रु १० हजारसहित ट्रफी पाएका छन् ।

विद्यालयस्तरमा आइजिपी शिल्डले चिनिने सर्वाधिक राशिको फुटबल प्रतियोगिताको २५औँ संस्करण मंसिर २४ गतेदेखि नेपाल प्रहरी स्कुल, साँगामा शुरु भएको खेलमा १९ वटा समूहको सहभागिता रहेको थियो ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रतियोगितामा विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए